Breaking

आजको मौसम : आंशिकदेखि सामान्य बदली, हिमाली क्षेत्रमा हिमपातको सम्भावना


काठमाडौँ – प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागसहित लुम्बिनीका केही भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ ।

मधेश प्रदेशका पूर्वी तथा मध्य भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका भू–भाग तथा गण्डकीको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही तथा प्रदेश–१ र बागमतीका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागको केही स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार​ गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।