प्रदेश–१

विद्यालय नआउने प्रधानाध्यापकलाई पदबाट हटाइयो


काठमाडौँ – ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–९ पात्लेको जनता आधारभूत विद्यालयका प्रधानाध्यापकलाई पदबाट हटाइएको छ । विद्यालयमा नियमित उपस्थित नहुनुभएकाले प्रधानाध्यापक रामदेव चौधरीलाई प्रअको जिम्मेवारीबाट हटाइएको हो ।

नियमित तलव सुविधा लिने तर प्रधानाध्यापक नै पठनपाठनमा संलग्न नहुने र बिदामा बसेपछि लामो समय विद्यालयको सम्पर्कमा नरहने गरेकाले चौधरीलाई जिम्मेवारीबाट हटाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पेम्बा शेर्पाले बताउनुभयो ।

नियमित विद्यालयमा उपस्थित हुन र पठनपाठन प्रभावित नबनाउन विव्यसले पटक–पटक सचेत गराए पनि अटेर गरेकाले उहाँलाई बाध्य भएर प्रअबाट हटाउनुपरेको अध्यक्ष शेर्पाको भनाइ छ ।

यस अघि विद्यालयमा लामो समय अनुपस्थित हुनुभएका प्रधानाध्यापक चौधरीको तलब रोक्का गर्न गाउँपालिकामा चार पटक निवेदन दिइएको भए पनि उहाँले मिलाएर तलब लिनुभएको अध्यक्ष शेर्पाले बताउनुभयो ।

स्थानीय तहको सहमतिमा विद्यालय व्यवस्थापन समितिको निर्णयले अर्कै प्रधानाध्यापक नियुक्ति गर्ने गरी उहाँलाई प्रअ पदबाट हटाइएको हो । विद्यालयको तथ्याङ्कअनुसार वर्षमा नौ महिना विद्यालय खुल्दा प्रअ चौधरी जम्मा ४३ दिन मात्रै हाजिर हुनुभएको छ ।

प्रअ चौधरी अनियमित हुनुभएपछि विद्यालयको आन्तरिक स्रोतबाटै तलब खुवाउने गरी अर्को शिक्षक राखेर पठनपाठन गराइएको थियो । जिल्लाको दुर्गम र शेर्पा समुदायको बाहुल्य रहेको पात्लेमा विद्यालय नगई तलब लिन पाउने भएपछि चौधरी २० वर्षदेखि उक्त विद्यालयमा रहनुभएको स्थानीयको भनाइ छ ।