काठमाडौँ— पाकिस्तानको विदेशी मुद्रा भण्डार विगत आठ वर्षमा सबभन्दा कम भएको छ । अहिले पाकिस्तानसँग लगभग ५ अर्ब डलर मात्र छ ।
सन् २०२२ को डिसेम्बर ३० मा स्टेट बैंक अफ पाकिस्तानसँग जम्मा ५।५७६ अर्ब डलरको फरेक्स रिजर्भ थियो । यति पैसाले पाकिस्तान जम्मा तीन हप्ताका लागि मात्र विदेशबाट आयात गर्न सक्ने स्थितिमा छ ।
विदेशी ऋणमा चुर्लुम्म डुबेको पाकिस्तानले त्यो साता ऋण चुकाएपछि विदेशी मुद्रा भण्डार घटेको हो ।
पाकिस्तानले चीन, साउदी अरब, संयुक्त अरब अमिरात, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ऋण लिएको छ । अहिले उससँग विदेशी ऋण चुकाउने पैसा पनि छैन ।
अन्तर्राष्ट्रिय मुद्रा कोषसँग पाकिस्तानले ऋणको नयाँ किस्ताको आशा गरेको भए पनि कुरा मिलेको छैन । चार दिनमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आईएमएफकी प्रमुख क्रिस्टलिना जर्जिभालाई भेट्ने कार्यक्रम छ ।
आर्थिक स्थिति कमजोर बन्दै जाँदा पाकिस्तानमा मूल्यवृद्धि आकासिएको छ । ग्यास सिलिन्डर १० हजार रुपैयाँमा बिकिरहेको छ ।
सस्तो मूल्यमा पाइने पीठो किन्ने लाइनमा झगडा हुँदा एकजनाको ज्यान गएको छ । पाकिस्तानले आर्थिक सहायता नपाउने हो भने हाहाकार मच्चिने देखिँदैछ ।
प्रतिक्रिया