Breaking

दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बालक बेपत्ता


काठमाडौँ – दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बालक बेपत्ता भएका छन् ।

ब्यास गाउँपालिका-४ को डोकटका १० वर्षीय बालक दिपेन्द्र बिष्ट तुइनबाट नदी तर्ने क्रममा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बालक बिहीबार बिहान तुइनबाट तर्ने क्रममा बेपत्ता भए पनि शनिबार मात्र खबर प्राप्त भएको जनाएको छ । खबर प्राप्त भएपछि स्थानीय प्रहरी टोली बालकको खोजीमा खटिएको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान बालककी आमा तुइनमार्फत खर काट्न भारतीय जंगलमा पुगेकी थिइन् । बालक पनि उनीसँगै गएका थिए । सोही क्रममा बालक तुइनबाट खसेर बेपत्ता भएका थिए ।

बालक ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए । यसै वर्ष गत असारमा पनि सोही ठाउँको तुइनबाट खसेर १८ वर्षीय युवक बेपत्ता भएका थिए ।