Breaking

तराईमा बाक्लो हुस्सु र कुहिरो, जनजीवन प्रभावित


काठमाडौँ – देशका पहाडी भूभागमा आंशिक बदली (आकाशमा थोरै बादल) रही तराईका धेरै स्थानमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईमा बाक्लो हुस्सु र कुहिरोसँगै अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको हो ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भेगमा आंशिक बदली तथा देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । यस क्रममा गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

बुलेटिनअनुसार आज राति प्रदेश १ को पहाडी भेगमा आंशिक बदली तथा देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । यस क्रममा प्रदेश १ को हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ । जसमा भनिएको छ स् देशको प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका धेरै भूभागमा बाक्लो हुस्सु/कुहिरो लाग्ने र दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ ।

यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । यो तापक्रम अहिले बिहान ८:४५ बजे अध्यावधिक गरिनेछ भने त्यतिबेला महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गर्नेछ ।