Breaking

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उदघाटन, चीनले दियो बधाई


काठमाडौँ – सरकारले अंग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भको अवसर पारेर आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउँदै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ११ बजे विमानस्थल उदघाटन गर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक बिक्रम गौतमले बताए । उनका अनुसार फेब्रुअरी २३ देखि दैनिक १८ घन्टा उडान हुने छ ।

अन्तर्राष्ट्रिय विमानस्थल उदघाटनको खुसियालीमा पोखरा महानगरपालिकाले आज सार्वजनिक बिदासमेत दिएको छ ।

बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालक दल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ । अमरसिंह चोकदेखि विमानस्थलसम्म विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित र्याली निकाल्ने तयारी छ । विमानस्थलको परिकल्पना गरी जग्गा अधिग्रहण सुरु गरेका तत्कालीन अञ्चलाधीश शंकरराज पाठकलाई अभिनन्दन गर्ने कार्यक्रम छ ।

चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीले ११ अगष्ट २०१७देखि विमानस्थल निर्माण सुरु गरेको थियो । नयाँ आधुनिक अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पोखरावासीको पचास वर्षदेखिको सपना साकार भएको भन्दै काठमाडौँस्थित चिनियाँ दूतावासले बधाई दिएको छ । उसले भनेको छ, ‘यो नेपाल चीन बीआरआई सहयोगको प्रमुख परियोजना हो, नेपाल सरकार र नेपाली जनतालाई हार्दिक बधाई ।’