Breaking

चितवनमा भ्यान र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु


काठमाडौँ – भरतपुर महानगरपालिका-१५ मा यात्रु बोक्ने म्याजिक भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एकजना मोटरसाइकलका चालक र अर्का व्यक्ति म्याजिकका यात्रु रहेको चितवन प्रहरीले जनाएको छ ।

हिजो साँझ साढे सात बजेतिर भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना १ ज ६०५ नम्बरको म्याजिक भ्यानले भरतपुरतर्फ आउँदै गरेको ना २३ प २५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्करपछि घाइते भएका म्याजिकका यात्रु स्याङ्जाका २४ वर्षीय नविन नेपालीलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै निधन भएको चितवन प्रहरीले जनाएको छ ।

त्यसैगरी गम्भीर घाइते भएका मोटरसाइकल चालक चितवन भरतपुर महानगरपालिका–५ का ४० वर्षीय यज्ञ शर्माको उपचारको क्रममा भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । घटनामा अन्य दुई जना पनि घाइते भएका छन् ।