Breaking

पहाडी स्थानमा वर्षा र हिमपातको सम्भावना


काठमाडौँ – आज पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पनि पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । यस क्रममा प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ ।

महाशाखाको बुलेटिनअनुसार आज राति पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । यस क्रममा प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा र देशका हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।

जसमा भनिएको छ : देशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउनुहोला। साथै तापक्रममा कमी आउने सम्भावना भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनुहोला ।

यसैबीच आज बिहानको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको महाशाखाका मौसमविद् समीर भट्टराईले जानकारी दिए । हिजो भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११.४ डिग्री सेल्सियस थियो ।

महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा पनि आज वर्षाको सम्भावना रहेको तर निकै न्यून रहेको जनाएको छ ।