Breaking

सफाइ पाएका मुद्दा विरुद्ध अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

योहो संवाददाता

काठमाडौँ— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएका १२४ मुद्दाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अख्तियारले विशेष अदालतबाट भएका फैसलामा चित्त नबुझी २ सय ५१ प्रतिवादीका १ सय २४ मुद्दाविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएको जनाएको हो । पुनरावेदन दिएका मुद्दाका कुल बिगो रकम ४२ करोड १६ लाख २६ हजार ४ सय ६२ रुपैयाँ रहेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । चालू आवमा १ सय ६३ वटा फैसला प्राप्त गरेको र त्यसमध्ये अधिकांशको सर्वोच्चमा पुनरावेदन दिएको भण्डारीले बताए । पुनरावेदन दिएकामध्ये सबैभन्दा बढि घुसररिसवत मुद्दाको संख्या १ सय १२ रहेको छ ।

त्यस्तै, अन्य मुद्दामा सामाजिक सुरक्षा भत्ता हिनामिना, राजस्व चुहावट, गैर कानुनी सम्पती आर्जन लगायतका छन् । अख्तियारका प्रवक्ता भण्डारीले आयोगको सफलता घट्नुमा आयोगको अनुसन्धानको कमजोरी नभएको बताए । सप्रमाण हुँदा पनि विशेष अदालतबाट उपयुक्त फैसाला नभएपछि कानुनले नै दिएको सुविधा उपयोग गरेर कानुनबमोजिम नै सर्वोच्चमा पुनरावेदन दिएको उनको भनाइ छ ।

उनले भ्रष्टचारको मुद्दामा गम्भीर तवरले अनुसन्धान गरेर सप्रमाण कसुर स्थापीत गर्ने काममा सफल नहुँदा गलत नजिर बस्ने भएकाले पुनरावेदनमा जानु परेको भण्डारीले बताए। प्रवक्ता भण्डारीले मुद्दाको असफलताको दर बढ्दै जानुमा आयोगको कमजोरी नभएको दावी गरे। उनले आयोगमा मुद्दा परेका विषयहरुमा अहिले पनि आयोग आन्तरिक रुपमा छानविनमा केन्द्रीत भएको जिकिर गरे।