काठमाडौँ— नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा नेतृत्व परिवर्तनका लागि आफूलाई संसदमा निर्वाचित गरेर पठाउनुपर्ने बताउनु भएको छ।
आफू सांसद भएमात्रै कांग्रेस भित्र संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धा हुने र नेतृत्व परिवर्तन सम्भव हुने उहाँको भनाइ छ। पार्टीको काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिले मंगलबार काठमाडौं–४ मा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उहाँले आफूले निर्वाचन जितेर गए कांग्रेसमा मात्रै संसदीय दलको निर्वाचन हुने र मतदाताले चाहे अनुसारको नेतृत्व परिवर्तन हुने बताउनु भएको हो।
महामन्त्री थापाले संसदीय व्यवस्थामा संसदमा जिते मात्रै संसदीय दलमा निर्वाचन लड्न पाउने भएकाले त्यसका लागि आफूलाई निर्वाचित गराउन सबैले सहयोग गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो। उहाँले आफूलाई सांसदमा निर्वाचन गराएर पठाए १० वर्षमा मुलुकको राजनीतिकलाई पुरै सुधार गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । महामन्त्री थापाले भन्नुभयो, ‘‘ठूलो मतदाताले काठमाडौंमा राजनीतिक नेतृत्वको बदलाव खोज्नु भएको छ ।
तर, राजनीतिक यथार्थ के छ ? राजनीतिक यथार्थ यो पटक निर्वाचन पछाडि कुनै पनि नेपालको ठूलो राजनीतिक दलको संसदीय दलको चुनावसमेत पनि हुनेवाला छैन। भयो भने जम्मा एउटा दलमा हुन्छ’’, महामन्त्री थापाले भन्नुभयो, ‘‘कांग्रेसमा पनि कतिखेर हुन्छ रु क्षेत्र नम्बर ४ बाट तपाईँले चुनाव लड्ने मान्छे जिताएर पठाइदिनुभयो भने बल्ल चुनाव हुन्छ। नभए त्यहाँ पनि हुँदैन।’’ थापाले आफूलाई समय दिए १० वर्षमा सुध्रेको राजनीति दिने बताउनुभएको छ। महामन्त्री थापाले अबको निर्वाचनपछि पनि मतदाताको प्रतिष्ठा राख्ने काम सांसदले नगरे मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था नै नरहने चेतावनीसमेत दिनुभयो।
जनप्रतिनिधिले अब पनि मतदातामाथि निर्वाचनमा गरेको बाचा अनुसार काम नगरे उनीहरूले फेरि चुनाव लड्न नपाउने उहाँको बताउनुभयो। महामन्त्री थापाले सत्तारुढ गठबन्धनको आगामी निर्वाचनपछि बहुमत आउने दाबी गर्दै त्यसपछि पाँच वर्षसम्म एकताबद्ध भएर जनताको भावना अनुसार काम गर्न प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । ‘‘बहुमत ल्याउन चाहन्छौँ। बहुमत किन ल्याउन चाहन्छौँ, स्थिर सरकार चलाउन चाहन्छौँ । स्थिर सरकार किन चलाउन चाहन्छौँ रु हामी जनतासँग गरिएका बाचा पूरा गर्न चाहन्छौँ। जनतालाई निराशाबाट बाहिर ल्याउन चाहन्छौँ ।
जनजीविकासँग जोडिएका विषयलाई सम्बोधन गर्न चाहन्छौँ’’, थापाले भन्नुभयो। उहाँले यो पटक आफूहरूलाई ढिला गर्ने सुविधा नभएको बताउनुभयो। संसदमा पुगेर मतदाताको इज्जत राख्न नसके फेरि मत माग्ने अवस्था बाँकी नरहने बताउनुभयो। ‘‘यो पटक हामीलाई ढिलो गर्ने सुविधा छैन। असफल हुने सुविधा छैन। हामी ठूलो जिम्मेवारी लिएर संसदमा जाँदैछौं। यो जिम्मेवारीबाट कथमकदाचित हामी कुनै पनि कारणले चुक्यौँ भने त्यसको मूल्य पहिला हामीले चुकाउनु पर्छ। त्यसका लागि तपाईँको साथ चाहिएको हो। एक्लैले सक्दिन। टिम चाहिन्छ।
यस पटक पाइएको मतको प्रतिष्ठा राख्न सकिएन भने अर्को पटक उठ्न पाइँदैन। यस पटक मतदाताको इज्जत राख्न सकिएन भने अर्को पटक मत माग्ने व्यवस्था नै बाँकी हुँदैन।’ महामन्त्री थापाले नागरिकमा निराशा छाएको भन्दै उनीहरूलाई आशा जगाउने गरी काम गर्न नसकिए आक्रोश छाउने र मुलुक बर्बाद हुने बताउनुभयो ।


प्रतिक्रिया