काठमाडौँ—प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितमा विभागीय टोली नेपाल एपिएफ क्लबले तेस्रो जित निकालेको छ । उसले आज सम्पन्न समूह ‘ए’अन्तर्गतको खेलमा कर्णाली प्रदेशलाई ४४ रन ले हराउँदै तेस्रो जित निकालेको हो । यो जितसँगै एपिएफले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
२३५ रनको लक्ष्य पछ्याएको कर्णालीले ४८।१ ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनायो । उसका लागि कप्तान रवीन्द्र शाहीले ८० रनको उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । १३८ बलको सामना गरेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे । विपिन शाहीले ३४,अर्जुन घर्तीले २७ र दिनेश अधिकारीले २० रन जोडे । एपिएफका लागि मौसम ढकालले चार, कमलसिंह ऐरी र भुवन कार्की दुई–दुई तथा पूर्ण विक र कप्तान शरद भेषवाकरले समान एक विकेट हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एपिएफले ४७।२ ओभरमा सबै विकेट गुमाउँदै २३४ रन बनाएको थियो । उसका लागि आसिफ शेखले १३६ बलमा १५ चौका र एक छक्कासहित १३० रनको उत्कृष्ट शतकीय पारी खेले । भुवन कार्कीले२३, प्रदीप ऐरीले २० तथा लोकेश बल र दीपक बोहराले समा १० रन जोडे ।
कर्णालीका लागि दीपेन्द्र रावत र प्रकाश जैसीले तीन–तीन,दिवान पुनले २ र दीनेश अधिकारीले एक विकेट हात पार्दा एक विकेट रन आउटका रुपमा प्राप्त भयो । जितसँगै शीर्ष स्थानको एपिएफले चार खेलमा सात अंक जोड्दा लगातार दोस्रो पराजय बेहोरेको कर्णाली अंकविहीन छ ।
प्रतिक्रिया