विदेश

७० हजारको मेकअप गराएर बेहुली पार्लरबाटै गायब

योहो संवाददाता

काठमाडौँ— आफ्नो बिहेको लागि गराएको मेकअपको पैसा पनि नतिरी भाग्ने बेहुली कस्ती होलिन् त? हालै बेलायतको यर्क सहरमा एउटा यस्तै घटना भएको छ । दुई हप्तापछि विवाह गर्न लागेकी ती युवती श्रृंगारका लागि ब्युटी पार्लर आएकी थिइन् । ब्युटी पार्लरमा उनले मेकअप गराइन् र त्यसबापत करिब ७० हजार रुपैयाँ बराबरको बिल आयो । तर उक्त बिलको रकम तिर्नुको साटो उनी ब्युर्टी पार्लरबाट फरार भइन् ।

पार्लरकी सञ्चालिका सार्लोट ब्रिजेसका अनुसार गत सेप्टेम्बर २८ मा एक युवतीले फोन गरेर मेकअपका लागि अपोइन्टमेन्ट बुक गरिन् । सोही अनुसार उनी एक जना बहिनीलाई लिएर पार्लरमा आइन् । करिब दुई घण्टा लगाएर बोटोक्स र लिप फिलर गराइन् । आफ्नो काम सकिएपछि उनी पैसा तिर्नका लागि कारबाट ब्याग ल्याउँछु भन्दै गइन् र पैसा ल्याएर आउनुको साटो एकाएक फरार भइन् ।

केहीबेरपछि उनकी बहिनी भनिएकी केटी पनि दिदीलाई हेर्न भन्दै पार्किङमा गइन् र दुवैजना फरार भए । हुनेवाला बेहुलीले मेकअपको रकम नतिरी फरार भएको भन्दै ब्रिजेसले प्रहरीमा उजुरी दिइन् । पार्लरमा आएको बेला उनले खिचेको तस्वीरको आधारमा प्रहरीले ती युवतीको खोजी गर्‍यो र हालै ती युवतीलाई पक्राउ गर्न सफल भयो ।