Breaking

प्रधानमन्त्री देउवा आज धनगढी जाने


काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार धनगढी जाने भएका छन् । गृहजिल्ला डडेलधुराका चुनावी आमसभामा सहभागी हुने क्रममा उनी बुधबार धनगढी जान लागेका हुन् ।

देउवा बुधबार धनगढी बसी बिहीबार गृहजिल्ला जाने ​उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । देउवाले वाम–लोकतान्त्रिक गठबन्धन डडेलधुराले जिल्लाका सातवटै स्थानीय तहमा आयोजना गर्ने आठ सभामा सम्बोधन गर्नेछन् ।

उनले बिहीबार जिल्ला सदरमुकामको बसपार्कमा आयोजित चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै कात्तिक १८ गते बिहान नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र दिउँसो गन्यापधुरा गाउँपालिका–२ बडालको चुनावी सभामा कार्यक्रम रहेको वाम–लोकतान्त्रिक गठबन्धन डडेलधुराले जनाएको छ।

देउवाले १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रूपालमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्नेछन् । कात्तिक २० गते बिहान आलिताल गाउँपालिकाको गोदाम र घरेलु बजारमा तथा दिउँसो परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

देउवा सातौँ पटक डडेल्धुराबाट निर्वाचन लड्न लागेका हुन् । यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा विजयी भएका थिए । उनले २०६४ मा कञ्चनपुर–४ र २०७० मा कैलाली–६ बाट पनि चुनाव जितेका थिए ।