विदेश

रुसको आक्रमणले किभको खानेपानी प्रणाली ध्वस्त


काठमाडौँ – रुसको क्षेप्यास्त्र आक्रमणपछि युक्रेनको राजधानी किभमा खानेपानी संकट चुलिएको छ । पानी वितरण प्रणाली ध्वस्त भएपछि राजधानीका अधिकांश मानिस पानीको लाइनमा बस्नु परेको अधिकारीहरूले जनाएका छन् ।

किभका मेयरले राजधानीका ४० प्रतिशत जनसंख्याको पानी प्रणाली ध्वस्त भएको बताएका छन् । तर उपभोक्ताले भने ८० प्रतिशतसम्म घरमा पानी आउन बन्द भएको बताएका छन् । ऊर्जा प्रणालीमा भएको क्षेप्यास्त्र आक्रमणबाट राजधानी किभका २ लाख ७० हजार घरमा विद्युत सेवासमेत अवरुद्ध भएको छ ।

देशभर भएको आक्रमणमा १३ जना घाइते भएको जनाइएको छ । रुसले युक्रेनको सैन्य नियन्त्रण र ऊर्जा प्रणाली लक्षित आक्रमण थालिएको र त्यसमा सफल भएको बताएको छ । युक्रेनी सैनिकले रुसले हिजो मात्रै ४५ देखि ५५ वटा शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।

करिब १० महिनादेखि युक्रेनमाथि आक्रमण गरिरहेको रुसले पछिल्लो समय ऊर्जा, खानेपानी लगायत अत्यावश्यकीय क्षेत्रलाई निशाना बनाइरहेको छ ।