खेलकुद

आइसिसी टी-२० विश्वकप: नेदरल्यान्ड्सलाई हराउँदै पाकिस्तानको पहिलो जित


काठमाडौँ — आइसिसी टी-२० विश्वकपमा पाकिस्तानले पहिलो जित हात पारेको छ । पाकिस्तानले आइतबार पर्थमा भएको खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै पहिलो जित दर्ता गराएको हो । नेदरल्यान्ड्सले दिएको ९२ रनको लक्ष्य पाकिस्तानले १३।५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

पाकिस्तानका लागि ओपनर मोहमद रिजवानले ३९ बलमा ४९ रन रन जोडे। कप्तान बाबर अजाम ४ रन, फखर जमान २० रन र शान मसूद १२ रनमा आउट भए। इफ्तिखर अहमेदले नटआउट ६ रन र शादब खानले नटआउट ४ रन जोडे । बलिङमा नेदरल्यान्ड्सका ब्रेन्डन ग्लोभरले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ९ विकेटको क्षतिमा ९१ रन जोड्यो। उसका लागि कोलिन अकरम्यानले २७ रन र स्टक इडवार्डले १५ रन जोडे ।

अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा पाकिस्तानका शादब खानले ३ विकेट लिए भने मोहमद वासिमले २ विकेट हात पारे । जारी टी-२० विश्वकपको समूह-२ मा नेदरल्यान्ड्सले लगातार तेस्रो खेलमा हार बेहोरेको हो । यता सुरुवाती दुई खेलमा हार बेहोरेको पाकिस्तानले भने पहिलो जित निकालेको हो। यसअघि पाकिस्तानलाई भारत र जिम्वाबेले हराएका थिए ।