Breaking

दार्चुला बालक मृत्यु घटना: भारतीय निर्माण कम्पनीले दियो पीडितलाई क्षतिपूर्ति


काठमाडौँ — सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई १६ लाख क्षतिपूर्ति दिएको छ । गएराति भारतीय निर्माण कम्पनी, भारतीय प्रशासन, पीडित परिवारका सदस्य र स्थानीय नेपाली जनप्रतिनिधिबीच क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको हो ।

भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’का प्रतिनिधिले पीडित परिवारलाई नगद रकम हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । सडक निर्माण कम्पनीले नगद रकम हस्तान्तरण गरेको छ,’ उनले भने, ‘नगद रकम मृतक बालकका बुबा र आमाको नाममा संयुक्त खाता खोलेर जम्मा गरिने छ । छठ पर्वका कारण आज बैंक बन्द भएकाले सोमबार संयुक्त खाता खोलेर रकम जम्मा गरिने प्रजिअ उपाध्यायले बताए ।

‘हाललाई नगद रकम मृतक बालकको बुबा हिक्मत महराको जिम्मा लगाइएको छ,’ उनले भने । दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदी पारीको भारतीय क्षेत्रमा शुक्रबार बिहान सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेपछि उछिट्टिएको ढुंगाले लागेर स्थानीय नेपाली बालक नौ वर्षीय पवन महराको ज्यान गएको थियो ।

महरा महाकाली किनारमा नेपाली क्षेत्रमा बुबा, आमा, दिदी र भाइहरूका साथमा हिँडिरहेका बेला उक्त घटना घटेको हो । हामी महाकाली किनार हुँदै घर फर्किदै थियौं, एक्कासी ढुंगाले लागेर छोरोको घटनास्थलमै ज्यान गयो,’ मृतक बालकका बुबा हिक्मतले भने, ‘घटनामा छोरी सरिना पनि घाइते भएकी छिन् । उनको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मृतक बालकका बुबा हिक्मतका अनुसार गएराति भारतको धारचुलास्थित सहायक प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा निर्माण कम्पनीले नगद रकम हस्तान्तरण गरेको हो ।