काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । डा. कार्कीले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै निर्वाचन आयोगको शनिबार बसेको बैठकले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो ।
डा. कार्की नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य हुन् । आयोगले अन्तिम उम्मेदवार नामावली सार्वजनिक गरेपछि डा। कार्कीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । डा. कार्कीको पद लाभको हो कि होइन भनेर आयोगले उनलाई र मेडिकल काउन्सिललाई स्पष्टीकरण सोधेको थियो । त्यसपछि उनको स्पष्टीकरण कागजागतसहित निर्वाचन आयोगमा कारबाहीका लागि पठाइएको थियो ।
ुललितपुर ३ मा उम्मेदवार बन्नुभएकी डा. तोसिमा कार्की विरुद्ध परेको उजुरीमा मासिक पारिश्रमिक नबुझे पनि बैठक भत्ता, भ्रमण भत्ता लिनुहुन्छ । यो सार्वजनिक पद धारण गरेको मानेर हरेक वर्ष सम्पत्ति विवरण बुझाउनुहुन्छ भनेर मेडिकल काउन्सिलले जानकारी गरायो, निर्वाचन आयोग स्रोतले भन्यो, काउन्सिलले जवाफपत्र र वहाल रहेको तोसिमा कार्कीको स्पष्टीकरणको आधारमा आयोगको बैठकले उम्मेदवारी खारेजीको निर्णय गरेको हो ।
डा. कार्कीले १ लाख १५ हजारभन्दा बढी बैठक भत्ता बुझेको बताइएको छ । साथै बैठक भत्ता लिनुलाई सार्वजनिक लाभको पद धारण गरेको मानिने आधारमा उम्मेदवारी खारेजको निर्णय गरेको पनि आयोगले स्पष्ट पारेको छ ।
प्रतिक्रिया