Breaking

दार्चुलामा बालक मृत्युको जिम्मेवार भारतीय पक्षले स्विकार्‍यो


काठमाडौँ — दार्चुलामा बालकको मृत्युको जिम्मेवार आफू रहेको भारतीय पक्षले स्वीकार गरेको छ । शुक्रबार जिल्लाको व्यास गाउँपालिका–२ मा भारतीय पक्षले महाकाली नदीपारि सडक निर्माण गर्ने बेला एक बालकको ज्यान गएको थियो । भारतले तावाघाट-लिपुलेक सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा व्यास गाउँपालिका २ दुम्लिङका १२ वर्षीय पवन महराको मृत्यु भएको थियो ।

यस्तै १४ वर्षीया सरिना महरा घाइते भएकी थिइन् । अहिले उनको जिल्ल अस्पतालमा उपचार जारी रहेको बताइएको छ। सोही घटनामा भारतीय सडक निर्माण कम्पनीले आफ्नो गल्ती भएको स्वीकार गरेको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिए । उनले भने, ‘आज ९शनिबार० भारतीय पक्ष निर्माण कम्पनी र पीडित परिवारसँग छलफल भएको छ । कम्पनीले गल्ती स्वीकार गरेको छ । निर्माण कम्पनीले क्षतिपूर्ति दिन तयार छौं भनेको छ ।

अध्यक्ष धामीका अनुसार भारतीय कम्पनीले गल्ती परिवारका बालबच्चालाई कक्षा १२ सम्म पढाउने र परिवारको एक जनालाई कम्पनीमा रोजगारी दिने प्रारम्भिक सहमति भएको हो । तर, नीजि कम्पनी भएकाले आफूहरुलाई रोजगारी भन्दा पनि उचित क्षतिपूर्ति दिनुपर्ने परिवारको माग छ ।

गर्ग एण्ड गर्ग कम्पनीले सडक निर्माणका लागि जिलेटिन बिस्फोट गर्दा उछिट्टिएको ढुंगाले महराको मृत्यु भएको थियो । घटनापछि शनिबार पीडित परिवारलाई लिएर दार्चुलाका जनप्रतिनिधिको टोली छलफलका लागि भारतको धार्चुला गएको थियो । उनीहरुले अन्तराष्ट्रिय सीमा क्षेत्रमा बिना सूचना विष्फोट गराएर ज्यादती हुने गरेकोले यस्तो गतिविधि रोक्न भारतीय पक्षलाई आग्रह गरेका छन् ।