काठमाडौँ — भारतीय मूलका ऋषि सुनक बेलायती राजनीतिमा प्रवेश गरेको छोटो समयमै प्रधानमन्त्री बनेसँगै उनको चर्चा यतिबेला अन्तराष्ट्रिय जगतमै चुलिएको छ । राजाले सरकार गठनका लागि आमन्त्रण गरेसँगै सुनक बेलायतको ५७ औँ प्रधानमन्त्री बनेका हुन् । आखिर को हुन् त ४२ वर्षिय ऋषि सुनक ? गत बिहीबार ४७ वर्षिय लिज ट्रसले प्रधानमन्त्री बनेको ४५ दिनमै पदबाट राजीनामा दिएसँगै बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीले नयाँ प्रधानमन्त्री चयन गरेको छ ।
पूर्वप्रधानमन्त्री बोरिस जोनसन र कन्जरभेटिभ नेता पेनी मोर्डन्ट प्रधानमन्त्री पदको दौडबाट पछि हटेसँगै ४२ वर्षीय बेलायती कन्जरभेटिभ पार्टीका भारतीय मूलका सांसद् ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन् ।भारतीय मूलकासुनक बेलायती राजनीतिमा छोटो समयमा उदाएका नेता हुन् । छोटो समयमै राजनितिक यात्रामा यति ठुलो सफलता हासिल गरेकै कारण अन्तराष्टिय जगतमै यतिबेला उनको चर्चा चुलिएको छ ।
उनले सन् २०१५ मा ३५ वर्षको उमेरमा पहिलो पटक संसद्को निर्वाचन जितेका थिए । सात वर्षपछि उनी बेलायतको नयाँ प्रधानमन्त्री बने । ऋषि भारतीय मूलको तेस्रो पुस्ता हुन् । उनका हजुरबा हजुरआमा भारतको विभाजनअघि पाकिस्तानी पञ्जाबको गुजरनवाला सहरबाट पूर्वी अफ्रिका बसाइ सरेका थिए । त्यसपछि उनी इङ्ल्याण्डको साउथह्याम्पटन शहरमा बसोबास गर्न पुगे । त्यहाँ ऋषि सुनकको जन्म सन् १९८० मा भएको थियो ।
उनी यही सहरमा हुर्केका थिए । उनले अक्सफोर्ड विश्वविद्यालयमा दर्शन, राजनीति र अर्थशास्त्र पढेका छन् । सन् २००१ देखि २००४ सम्म गोल्डम्यान स्याक्स बैकमा विश्लेषकका रूपमा काम गरका उनि पछि दुईवटा आर्थिक लगानी सम्बन्धी विशेष कोष हेज फन्डमा साझेदार बने । उनी सन् २०१५ यता रिचमन्डको नर्थ योर्कशरको निर्वाचन क्षेत्रबाट सांसद बनेका थिए।उनी ब्रिटेनका निकै धनी सांसदमध्ये एक भएको ठानिन्छ । कोरोना महामारी अघि नै ऋषि सुनक बेलायतको अर्थमन्त्री बनेका थिए ।
यो उनको लागि ठुलो उपलब्धि थियो, किनभने अर्थमन्त्री पदलाई बेलायतमा प्रधानमन्त्री पछिको दोस्रो उच्च पद मानिन्छ । उनले यो पदमा रहँदा निकै राम्रो काम गरे, जसका कारण धेरैले उनलाई प्रधानमन्त्रीको रूपमा हेर्न चाहन्थे । यसअघि जोनसनको समर्थनमा आएका केही सांसदहरु पनि उनले प्रधानमन्त्रीको दौडबाट पछि हट्ने घोषणा गरेसँगै सुनाकको पक्षमा उभिएको अन्तराष्टिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यद्यपि उनले सांसदहरुको समर्थन जुटाउन अझै संघर्ष गरिरहेको जनाइएको छ । नयाँ प्रधानमन्त्रीको प्रारम्भीक चरण पार गर्नका लागि बेलायती संसदमा कन्जरभेटिभ पार्टीका ३५७ सांसदमध्ये १ सय सांसदको समर्थन आवश्यक पर्छ । सुनाकले १ सय ५५ सांसदको समर्थन बटुलिसकेका छन् । यो ऐतिहासिक हुनेछ किनभने भारतको तुलनामा संसद्मा धार्मिक र जातीय अल्पसंख्यक समुदायहरूको प्रतिनिधित्व धेरै छ ।
उनी बेलायतको इतिहासमा पनि पहिलो अश्वेत प्रधानमन्त्री हुनेछन् । सुनक यसअघि प्रधानमन्त्रीको दौडमा प्रतिद्वन्द्वी लिज ट्रससँग पराजित भएका थिए । राजनीतिक विश्लेषकहरू ऋषिको उदय एशियाली समुदायहरूको सफलतासँग जोडिएको दाबि समेत गरिरहेका छन् ।


प्रतिक्रिया