काठमाडौँ — बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीका नवनियुक्त नेता ऋषि सुनकले बकिङ्घम दरबारमा राजा चाल्स तृतीयसँग भेटपछि औपचारिक रूपमा प्रधानमन्त्री बनेका छन् । त्यसपछि सुनक बेलायतको प्रधानमन्त्री आवास टेन डाउनिङ स्ट्रिट पुगेका थिए । त्यहाँबाट उनले प्रधानमन्त्रीका रूपमा देशलाई पहिलो सम्बोधन गरे । सम्बोधनको सुरुवातमा सुनकले आफूले राजालाई भेट्न आएको र उनले आफूलाई नयाँ सरकार बनाउन आग्रह गरेको सुनाएका थिए ।
‘तपाईँहरूलाई थाहा छ, हाम्रो अर्थतन्त्र अहिले कठिन चरणबाट गुज्रिरहेको छ । कोभिडका कारण पहिलेदेखि नै समस्या थियो, पुटिनले युक्रेनमा आक्रमण गरेर स्थितिमा थप खराब बनाइदिए । पूर्वप्रधानमन्त्री लिज ट्रस स्थिति सुधार्न चाहन्थिन्, तर उनले यसतर्फ अथक प्रयास पनि गरिन् तर गल्ती भए । अब हामी तिनलाई सुधार्नेछौँ , ’ सम्बोधनका क्रममा सुनकले भने ।
सुनकले सम्बोधनमा थप अगाडि भने ,‘ म यो देशलाई फेरि एकताबद्ध गर्नेछु । यो मैले भनेको मात्र होइन, गरेर देखाउनेछु । दिनरात तपाईँहरूको लागि काम गर्नेछु ।।। स्वास्थ्य, सीमा सुरक्षा र सशस्त्र बलका लागि काम गरिनेछ । आज हाम्रा सामु धेरै चुनौती छन् । वित्त मन्त्रीका रूपमा मैले सुरु गरेका कामलाई निरन्तरता दिनेछु । देशका जनताको हितलाई राजनीतिभन्दा माथि राख्नुपर्छ । तपाईको गुमेको आत्मविश्वास फिर्ता हुनेछ । बाटो कठिन छ, तर हामी तय गर्नेछौं । ’
सुनकले ब्रिटिस राजासँग भेट्नुअघि पूर्वप्रधानमन्त्री लिज ट्रसले राजदरबार पुगेर राजा चाल्र्स तृतीयलाई भेटेर राजीनामा बुझाएकी थिइन् । उनले अन्तिम पटक प्रधानमन्त्रीका रूपमा प्रधानमन्त्री निवासबाट देशका नाममा सम्बोधन समेत गरेकी थिइन् ।
प्रतिक्रिया