काठमाडौँ — दक्षिणी सुडानको आदिवासी जातीय समुदायमा केही दिनदेखि भएको हिंसामा मृत्यु हुनेको स्ख्या २२० जना पुगेको छ । पछिल्ला वर्षहरूमा सुडानमा भएका जातीय हिंसामध्ये यो घटना सबैभन्दा ठूलो मानिएको छ । इथियोपियासँग सीमा जोडिएको ब्लु नाइल प्रान्तमा यो महिना भूमि विवादको विषय फेरि चर्किएको छ । सोही मुद्दा वाड अल मही सहरमा बुधबार र मंगलबार फेरि चर्किएको हो ।
ब्लु नाइल स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी तथ्यांकमा उक्त हिंसामा कम्तीमा २२० जना मारिएको उल्लेख छ । यद्यपि उक्त संख्या अझै बढ्नसक्ने पनि बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्वास्थ्य टोली पनि उद्धारका लागि घटनास्थलमा पुग्न सकिरहेका छैनन् ।
वर्षौंदेखि जारी जातीय हिंसाका कारण दक्षिण सुडानमा ठूलो मानवीय क्षति भइसकेको छ । सरकारी अधिकारीहरूले भने उक्त हिंसामा हरेक मानिसले क्षति बेहोर्नु परेको भन्दै यसलाई छिट्टै अन्त्य गर्नुपर्ने बताउँदै आएका छन् । तर यसका लागि कडा राजनीतिक, रक्षा र नागरिक हस्तक्षेप जरुरी रहेको अधिकारीहरूको भनाइ छ।
संयुक्त राष्ट्रसंघका अनुसार उक्त क्षेत्रमा पटकपटक भएका भीडन्तमा ठूलो संख्यामा घरहरू जलाइनुका साथै यस क्षेत्रबाट ७ हजारभन्दा धेरै मानिसहरू भागेर रस्यारिस सहरमा गएर बसोबास गरेका छन्। केही भने छिमेकी प्रान्तहरूमा गएर बसोबास गर्न थालेका छन् ।
सुडानमा भएको जातीय हिंसाका कारण हालसम्म २ लाख ११ हजार मानिसहरू विस्थापित भइसकेका छन् । जारी हिंसाका बीच वाड अल मही क्षेत्रमा सरकारले रातको समयमा कर्फ्यू लगाउनुका साथै ठूलो संख्यामा सुरक्षाकर्मीहरू तेनाथ गरेको छ ।
प्रतिक्रिया