देश

केएमसीविरुद्ध नाराबाजी कायमै


काठमाडौँ— चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै काठमाडौँ मेडिकल कलेज (केएमसी) विरुद्ध आन्दोलनमा उत्रिएका मृतकका परिवार आज पनि धर्नामा बसेका छन् । काठमाडौं महानगरपालिका ९ का ४७ वर्षीय शैलेन्द्र विद्याधरको एक साताअघि उपचारकै क्रममा मृत्यु भएपछि मृतकका परिवार र आफन्त केएमसीविरुद्ध विरोधमा उत्रिएका हुन् ।

चिकित्सकको लापरवाहीका कारण विरामीको मृत्यु भएको दावी गर्दै उनीहरुले क्षेतिपूर्तिको माग गर्दै आएका छन् । त्यसका लागि अस्पताल प्रशासन र मृतकका आफन्तबीच पटक पटक वार्ता भए पनि निष्कर्ष निस्किएको छैन । मृतकका आफन्तले परिवारका एक जनालाई अस्पतालमा जागिर दिनुपर्ने र उपचार खर्च मिनाहा गर्नुपर्ने माग राखेका छन् । अस्पताल प्रशासनले भने उपचार खर्च मिनाहा गर्न अस्वीकार गरेको छ ।

दुवै पक्षबीच सहमति हुन नसकेपछि मृतक विद्याधरकी श्रीमती सुशिला विद्याधरलगायत आफन्तहरुले आज बिहानैदेखि अस्पताल वरपर नाराबाजीसहित प्रर्दशन गरेका हुन् । सो क्रममा उनीहरुले ‘लाइसेन्स लिएर मान्छे मार्न पाईंदैन’, ‘हत्यारा डाक्टरलाई कारवाही गर’ जस्ता नारा लगाएका थिए । डाक्टरले ब्रेन ट्युमरको अप्रेसनका क्रममा टाउकोको नसा काटेका कारण बिरामीको ज्यान गएको भन्दै आक्रोसित मृतकका आफन्तले अझै शव बुझेका छैनन् ।