Breaking

ओली–प्रचण्डको मुडभेडः कसले जित्दा देश हार्छ ? पटकपटक जितेर देश हराउने फेरि जित्दै, रोचक चुनावी भिडन्त


काठमाडौँ—नेपाली राजनीतिको पहिलो पुस्तालाई विदाई गर्नैपर्ने भन्दै चुनावका मुखमा धेरै अभियान चले । तर पनि शीर्ष नेतृत्वले सरकारदेखि दलसम्म रजगज चलाइरहेको छ । किनकि उनीहरु आफुले हारे देश हार्नेभन्दै मतदाताको मत भड्काइरहेका छन् । सबै राजनीतिक दलको एउटै भनाइ छ, हामीले हार्दा देश हार्छ । देशलाई जिताउन पनि हामीले जित्नैपर्छ । पछिल्लो समय चुनावीदौडलाई तीव्र बनाएको सत्ता गठबन्धनका एक प्रमुख पात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष हुन् पुष्पकमल दाहाल प्रचण्ड । सातै प्रदेशका सातै मञ्चमा प्रचण्डले एउटै कुरा बोले, देशलाई हार्नबाट बचाउन पनि हामीलाई जिताउनुपर्छ ।

मानौं विगतमा प्रचण्डले नजितेकै कारण देश हारिरहेको छ । रोल्पा, सिरहा, काठमाडौं र चितवन हुँदै गोरखा पुगिसक्दासमेत पटकपटक जितेर देशलाई सधैं हराएका प्रचण्डलेअब आफुले हारे देश हार्ने दाबी गरिरहेका छन् ।किनकि उनलाई चुनाव जित्नु होइन, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जित्नुछ ।त्यसका लागि ओलीलाई प्रतिगमनकारी र आफुलाई अग्रगमनकारी करार गर्नु उनको बाध्यता बनेको छ । र यही विषयलाई सत्तागठबन्धनले अहिले चुनावी मुद्धा बनाएर मानो थाप्ने काम गरिरहेको छ । तर एमाले अध्यक्ष ओली पनि कम कहाँ छन् र ?आफुले हारे देश हार्ने कुरा ओलीले स्थानीय तहको निर्वाचन देखिनै गर्दै आएका छन् । गत निर्वाचनबाट बलियो जनमत ल्याएर झण्डै दुईतिहाई बहुमतसहित सरकारको नेतृत्व गरेका ओलीले सत्तामा हुँदासम्मदेशले हार्ने कुरा सोच्नसम्म सकेनन् ।

दुईदुईपटक संसद विघटन जस्तो असंवैधानिक काम चालेका ओली जब सत्ताबाट बाहिरिए। अब देश हार्ने कुरा यत्रतत्र सर्वत्र गरिरहेका छन् । ४८ सालमा जितेर ६४ मा पराजित भएपनि त्यसयताका सबै चुनाव जितेका ओली अहिले सवाल देश हार्ने कि जित्ने भएको भन्दै एमालेलाई जिताउनैपर्ने चर्काे स्वर गरिरहेका छन् ।धेरै बोल्न नजान्ने, तर चाल चल्न जान्ने नेता भएकै कारण पाँचौंपटकसम्म प्रधानमन्त्री बनेका शेरबहादुर देउवा अहिले पनि प्रधानमन्त्री छन् ।देउवाले चुनाव हारेको रेकर्ड नै छैन । सातौंपटक चुनावमा जाँदासमेत देउवाको भनाइ आफुले हारे देश हार्ने कुरामै केन्द्रीत छ ।आइतबार सुदूरपश्चिममा बोलेका देउवा फेरि गठबन्धनले हारे देश हार्ने बताएका छन् । तर मतदाता अक्क न बक्कको अवस्थामा छन्, पटकपटक देश हार्छ भन्दै आफै जितिरहेकाहरुमध्ये को झुट बोलिरहेको छ ?तर यथार्थमा सबै झुट बोलेर जितिरहेका छन् र अब पनि उनीहरु नै जित्ने सम्भावना छ ।