देश

निर्वाचनका लागि साढे पाँच करोड मतपत्र छापिए


काठमाडौँ— प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि साढे पाँच करोडभन्दा बढी मतपत्र छापिएका छन्। निर्वाचन आयोगका अनुसार, प्रत्यक्ष र समानुपातिकका लागि झण्डै ७० प्रतिशत मतपत्र छापिएका छन्। आइतबारसम्म प्रत्यक्षतर्फ एक करोड ६७ लाख पाँच सय मतपत्र छापिएको आयोगले जनाएको छ।

जसमध्ये प्रतिनिधि सभाका लागि ८७ लाख एक हजार र प्रदेश सभाको ८० लाख ५७ हजार पाँच सय मतपत्र रहेका छन्।समानुपातिक निर्वाचन प्रणालीतर्फको करीब चार करोड मतपत्र भने यसअघि नै छपाइ भइसकेको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ भने ६८ जिल्लामा मतपत्र ढुवानी भइसकेको छ।

अब नौ जिल्लामा मात्र मतपत्र ढुवानी हुन बाँकी छ। मंसीर ४ गते हुने निर्वाचनमा एक करोड ७९ लाख ८५ हजार ७० मतदाता छन्। मतदाताले समानुपातिक र प्रत्यक्षतर्फ चार वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ। यस अनुसार, आगामी निर्वाचनका लागि करीब आठ करोड मतपत्र आवश्यक पर्छन्।