देश

रत्नपार्कमा १९औं काग सम्मेलन हुने


काठमाडौँ—यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौँको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औं ‘काग सम्मेलन’ हुने भएको छ । ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा रत्नापार्कस्थित शान्तिवाटिकामा कार्तिक ६ गते बिहान ६ देखि ७ बजेसम्म १९औं काग सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा १७३ जीव जनावर तथा चराचुरुंगीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी सम्मेलन गर्ने कार्यक्रम छ । दुलालले काग सम्मेलनमा ४०० कागलाई एकै ठाउँमा जम्मा पार्ने बताए । विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका दुलालले यस वर्ष पनि कागलाई बोलाएर काग तिहार मनाउन लागेका हुन् ।

काग तिहारको दिनमा कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा रहेको छ ।