Breaking

भक्तपुरका किसानलाई तिहारअघि नै धान भित्र्याउने चटारो, पर्यटक समेत रमाए


काठामाडौँ — भक्तपुर भेलुखेलमा तिहारअगाडि नै भकारीमा धान भित्र्याउन भ्याइनभ्याइ छ । लक्ष्मीपूजामा नयाँ धान चढाउनका लागि पनि भक्तपुरका किसानहरु यतिबेला धान भित्र्याउन लागि परेका छन । भक्तपुरमा यतिबेला विषेशगरि भेलुखेलमा तिहारअगाडि नै भकारीमा धान भित्र्याउन भ्याइनभ्याइ छ ।

विषेशगरि लक्ष्मीपूजामा नयाँ धान चढाउने परम्पराका कारण पनि यतिबेला भक्तपुरका किसानहरु धान भित्र्याउन लागि परेका हुन् । उनीहरुको दैनिकी यतिबेला धानकै ओल्टाइपल्टाइमा बित्ने गरेको छ । भक्तपुरको भेलुखेल टोलका मात्रै करिव पचास घर परिवारले एकै ठाउँमा बिस्कुन सुकाउँछन् । खेतका गह्रालाई आलीले छुट्टाएजस्तै स्थानीयवासीले खाली ठाउँ छोडेर बिस्कुन सुकाएको दृष्य यतिबेला देख्न सकिन्छ ।

यहाँका खाली चोक तथा आँगन धानले भरिएको देख्न सकिन्छ । सडक किनारमा सुकाइरहेको धान नियालेर यहाँ घुम्न आउने पर्यटकसमेत रमाउने गर्दछन । धानको धुलोको बेवास्ता गर्दे पर्यटकहरु किसानको जीवनशैलीमा रमाइरहेका हुन्छन । जहाँ स्थानीयहरु मिलेर धान सुकाउने र उठाउने गर्छन् ।

भेलुखेलमा मात्र होइन भक्तपुरका खाली ठाउँमा अचेल यसैगरी धान सुकाएको देखिन्छ । चरा, कुखुराबाट जोगाउन उनीहरु धान सुकाएको स्थानमा कुरेर बस्छन् । धान सुकाउन आएकी स्थानीय रामलक्ष्मी तिमानायले समयमै मल नआउँदा यस वर्ष विगतको तुलनामा धान कम फलेको गुनासो गरिन । अन्त धान सुकाउन घाम कम लाग्ने भएकाले किराबाट धान जोगाउन धान सुकाउनु परेको उनको भनाइ छ । त्यस्तै अर्का स्थानीय हरिप्रसाद मोहलाले सबै मिलेर धान सुकाउने गरेको बताए । उनले पनि समयमा नै बीउ र मल नआइपुग्दा विगतको तुलनामा यसवर्ष धान धेरै फल्न नसकेको गुनासो गरे ।

पहिला धान चोरी हुने डरले मानिसहरु धान सुकाएकै स्थानमा सुत्थे । अहिले भने सुकाएकै ठाउँमा धानलाई त्रिपालले छोपेर छोड्छन् र ढुक्कले घरमा सुत्छन् । राम्रोसँग नसुकाइ भण्डारण गर्दा धानमा किरा लाग्ने, बिग्रिने गर्दछ । त्यसैले धानलाई राम्रोसँग सुकाउन उनीहरुले खुला ठाउँलाई उपयोग गरेका हुन् । नेपाल कृषि प्रधान मुलुक हो । तर मुलुक अझैपनि धानमा पनि परनिर्भर छ । अझ बेलैमा मल नपाउने यावत समस्याले किसानहरु दिनप्रतिदिन निरास हुदै गरेका छन ।