काठमाडौँ — कोठाभित्र गोप्य रूपमा भिडिओ रेकर्ड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका(३ बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्याफे एन्ड लजका म्यानेजरलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । काठमाडौं चन्द्रागिरि-१५ का क्याफे म्यानेजर ४२ वर्षीय मुकेश मालीलाई पक्राउ गरेको हो ।
बुधबार दिउँसो उक्त लजमा बस्न आउने पाहुनाको गोप्य रूपमा भिडिओ रेकर्ड गरेको भन्ने सूचना प्रहरीले पाएको थियो । उक्त सूचनापछि महाराजगन्जबाट खटिएको टोलीले चेक गर्दा उनले गोप्य भिडिओ खिचेको खुलेको हो । ‘कोठामा एउटा सानो प्वाल बनाएको रहेछ । त्यहाँबाट खिच्ने गरेको खुल्यो,’ उनले भने । उनले हरेक कोठाको ढोकामा प्वाल बनाएको खुलेको हो । प्रहरीले उनको मोबाइल फोन पनि बरामद गरेको छ । जसमा विभिन्न व्यक्तिहरूको रेकर्ड गरिएका भिडिओ फेला परेको छ ।
प्रतिक्रिया