Breaking

तिहार नजिकिएसँगै शहर बजार झिलिमिल, महँगीको मारले जनताको ढाड सेकिँदै

योहो संवाददाता

काठमाडौँ — नेपालीहरुको दोस्रो ठुलो पर्व तिहार नजिकिएसँगै बजारमा चहलपहल र झिलिमिली सुरु भएको छ । तर बढ्दो महँगीका कारण सर्वसाधरणको तिहार भने प्रभावित हुने देखिन्छ । दैनिक उपभोग्य बस्तुमा चर्को महँगीको सामना गरिरहेका नेपालीहरुको चाढपर्व पनि यसबाट अछुतो छैन । तिहारमा प्ररम्परा जस्तै बने झिलिमिली बत्तीको मूल्य गत वर्षको भन्दा १० प्रतिशतसम्मले वृद्धि हुदा प्रत्यक्ष मारमा आम नागरिक नै परेका छन् ।

नेपाल विद्युतीय व्यावसायी महासंघले गत वर्षको तुलनामा यो वर्ष तिहारमा प्रयोग हुने झिलिमिली बत्तिको मूल्य ८ देखि १० प्रतिशतले वृद्धि भएको बताएको हो । महासंघले अमेरिकी डलरको मूल्यमा आएको वृद्धि तथा राष्ट्र बैंकको नीतिको कारण बत्तीको मूल्य बढेर आएको बताएको छ ।

तिहार नजिकिएसँगै बजारमा तिहार केन्द्रित वस्तुहरूको खरिदबिक्री बढ्न थालेको छ । फूलहरुको र झिलिमिली बत्तीको पर्वको रुपमा मनाइने तिहारका लागि बजारमा बत्ती, भाइमसला, फूलजस्ता वस्तुहरूहरुको बिक्री तथा खरिद शुरु भएको छ । अन्य सामानसँगै तिहारमा सबैभन्दा बढी बिक्री हुने झिलिमिली बत्तीको बिक्री पनि बजारमा शुरु भएको महासंघले जनाएको छ । महासंघका महासचिव कमल पोखरेलले बजारमा झिलिमिली बत्तीको माग बढे पनि विगतका वर्षको तुलनामा यो वर्ष बत्तीको आयातमासमेत केही कमी आउने बताउनु भयो ।

त्यस्तै,विद्युतीय व्यापारीहरुले ग्राहकको माग अनुसार बजारमा तिहारको लागि आवश्यक झिलिमिली बत्ति नभएको बताएका छन् । काठमाडौंका विद्युतीय व्यापारी मनराज खतिवडाले बित्तीहरुको मूल्य बढेर आएको बताए । अर्का व्यापारी दुर्गा सापकोटाले महँगो भएपनि ग्राहकहरुले खोजेको सामान नभएको बताए ।

नेपालमा सामान्य अवस्थामा विद्युतीय सामग्री तथा बत्ती नेपालमा वार्षिक १ अर्बभन्दा धेरैको आयात हुने गरेको छ । जसमध्ये आयात हुने झिलिमिली बत्तीको ८० प्रतिशत खपत तिहारको समयमा हुने महासंघले बताएको छ । त्यस्तै, क्रिसमस, नयाँ वर्ष तथा विवाह भोजजस्ता कार्यक्रमहरुमा २० प्रतिशत आयातित बत्तीको खपत हुने गरेको महासंघका महासचिव पोखरेलले बताए । तिहारमा बजारमा सबैभन्दा धेरै एलईडी लाइट, एलईडी डिस्को लाइट, एलईडी फ्रेम लाइट, नेट झालर, दियो, स्ट्रप लाईट अत्याधिक बिक्री हुने गर्दछ ।