काठमाडौँ — नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’को ट्रेलर सार्वजनिक भएको छ । सुरज बडज्यात्याको निर्माण तथा निर्देशन रहेको फिल्मको ट्रेलर मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको छ । फिल्ममा बुढेसकालमा सगरमाथा आरोहणका लागि भारतबाट नेपाल आएका तीनजना साथीको यात्रा कथा रहेको संकेत ट्रेलरले गरेको छ ।
फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर र डेनी डेन्जोङ्पा मुख्य भूमिकामा देखिएका छन् । अधिकांश छायांकन नेपालको हिमाली क्षेत्रमा गरिएको फिल्मको ट्रेलरमा मुख्य कलाकारहरू नेपाली ढाका टोपीमा पनि देखिएका छन्। यस वर्षको लागि प्रतीक्षित मानिएको फिल्मको ट्रेलरलाई दर्शकले उत्साहजनक प्रतिक्रिया दिएका छन् ।
बलिउडका दिग्गज मानिने चारजना कलाकार एउटै फिल्ममा रहेकाले पनि फिल्म ‘उचाइ’लाई विशेष फिल्म मानिएको छ । सुनील गान्धीको कथा एवम् अभिषेक दीक्षितको पटकथा रहेको फिल्म नोभेम्बर ११ मा विश्वव्यापी रुपमा प्रदर्शनमा आउँदैछ ।


प्रतिक्रिया