Breaking

सर्लाहीको चन्द्रनगर गाउँपालिकाद्वारा आन्तरिक श्रोतबाट करार सेवाका कर्मचारीहरुको तलब वृद्धि


काठमाडौँ — सर्लाहीको चन्द्रनगर गाउँपालिकाले करारमा कार्यरत आफ्ना कर्मचारीहरुको तलब वृद्धि गरेको छ । उक्त गाउँपालिकाले आफ्नो आन्तरिक श्रोतबाट कार्यरत सबै स्तरका करार सेवाका कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि गरेको छ।२०७९ साउन १ गतेदेखि नै लागु हुने गरि तलब वृद्धि गरेको प्रमुख प्रशासकिय अधिकृत मदन बहादुर थिङले जानकारी दिएको छ ।

देशमा बढेको मंहगी र नेपाल सरकारले स्थायी कर्मचारीको तलवमा गरेको १५ प्रतिशत वृद्धिलाई मध्यनगर गर्दै चन्द्रनगर गाउँपालिकाले २०७९ साउन २९ गते बसेको कार्यपालिकाको बैठकबाट आफनो पालिकामा कार्यरत करार सेवाका कर्मचारीहरुको पनि १५ प्रतिशतले तलव वृद्धि गर्ने निर्णय गरेको थियो ।

मंहगीको मार स्थायी तथा करार सबै प्रकृतिका कर्मचारीहरुले समान रुपले झेल्नु पर्छ, त्यसैले हाम्रो गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुला समान व्यवहार गर्दै र मंहगीको समस्यालाई समेत मध्यनजर गर्दै नियम कानुनको अधिनमा रहेर श्रोतको उपलब्धताको आधारमा तलब वृद्धि गरेको गाउँपालिका अध्यक्ष राज कुमार महतो बताए।यस्तो निर्णय भएसंगै चन्द्रनगर गाउँपालिका मातहतका शाखा,उपशाखा तथा गाउँपालिकाको कार्यालय र वडा कार्यालयहरुमा कार्यरत करारका कर्मचारीहरुको तलव १५ प्रतिशतले बढेको छ ।

यस्तो निर्णयले कर्मचारीहरुको मनोबल बढेको गापा अध्यक्ष महतोले भने। २०७९ साउन देखि असोज सम्मको तलब र सेवा सुविधा निकासा गरि सकेकोले तिहार बिदा अगावै सबैको बैंक खातामा तलब वापतको रकम डिपोजिट भई सक्ने लेखापाल सुनिल कुमार साहले जानकारी दिए । तलब वृद्धि भएपछि करार सेवामा कार्यरत कर्मचारीहरु यतिबेला हर्षित भएका छन् । गापा अध्यक्ष महतो र सम्पुर्ण जनप्रतिनिधिहरुको यस्तो निर्णयबाट कर्मचारीहरुको मनोबल बढेको भन्दै स्थानीयहरुले समेत प्रसंसा गरेका छन् ।