देश

आज सार्वजनिक बिदा

योहो संवाददाता

काठमाडौँ— वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको ‘चिना’ जलाएर अन्त्येष्टि गरिएको छ । उनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले वाङ्मय शताब्दी पुरुषको शोकमा आज मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएका हुन् ।

पोखरेलका अनुसार वाङ्मय शताब्दी पुरुष जोशीको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कूटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको छ । उता, दिवंगत जोशीको पार्थिव शरीर उनका परिवारले किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गरेका छन् । आइतबार साँझ परिवारजनले पार्थिव शरीर कलेजलाई हस्तान्तरण गरेका हुन् । कलेजका कार्यकारी निर्देशक डा सुरज ब्रजाचार्यले जोशीको पार्थिक शरीर जिम्मा लिए ।

परिवारसँगको छलफलपछि जोशीको शरीर मेडिकलका विद्यार्थीलाई अध्ययनका लागि दिइएको हो । दिवंगत भएपछि मृत शरीर मडिकल पढ्ने विधार्थीका लागि ‘उपयोगी बनोस्’ भन्दै संस्कृतिविद् जोशीले ३० माघ २०७७ मा किस्ट मेडिकल कलेजलाई शरीर दान गरेका थिए । सोही इच्छाअनुसार बुबाको शरीर कलेजलाई हस्तान्तरण गरिएको छोरा डा पूर्णराज जोशीले जानकारी दिए ।

यसैबीच, जोशीको भौतिक शरीर कलेजलाई हस्तान्तरण गरे पनि परम्परागत रूपमा उनको अन्त्येष्टिको रीत भने परिवारले पूरा गरेका छन् । आइतबार बेलुका परिवारका सदस्य ललितपुर शंखमूल घाट पुगेर जोशीको जन्मकुण्डली शंखमूलको बाग्मती घाटमा जलाएका हुन् । घाटमा नेवारी परम्पराअनुसार कार्यपछि परिवारले आइतबार बेलुकाबाटै असोच बार्न सुरु गरेका छन् । उनको शवदहन नगरिए पनि मृत्य संस्कार सम्पन्न गरिने जोशी परिवारले जनाएका छन् ।