विदेश

सैन्य जेट दुर्घटना हुँदा ६ जनाको मृत्यु,६ जना बेपत्ता


काठमाडौँ— रसियाको एक सैन्य जेट आवासीय भवनमा ठोक्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् । सैन्य जेट युक्रेनको सीमा नजिकै उडेको केही समय पछि एक आवासीय भवनमा दुर्घटनाग्रस्त भएको हो। सोमवार सामाजिक सञ्जालमा अपलोड गरिएका भिडियो र तस्विरहरूमा रसियाको बन्दरगाह र रिसोर्ट शहर येस्कमा रहेको एक आवासीय भवन आगोमा जलिरहेको देखिएको छ।

सो शहर युक्रेनको मारिउपोलको दक्षिणमा अजोभ सागरको छेउमा अवस्थित छ।एसयू ३४ लडाकु बम्बर नजिकैको युज्नी एयरबेसबाट उडेको केही समयपछि भवनमा ठोक्किएको रसियाली रक्षा मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ। दुर्घटनाको कारण इन्जिनमा आगो लागेको बताइएको छ। प्रशिक्षण उडानमा रहेको सो विमानमा विस्फोटक पदार्थ रहेको र दुर्घटनापछि सो पदार्थ विस्फोट भएको बताइएको छ। जसकारण केही समयको लागि अग्निनियन्त्रकहरू आगो निभाउन त्यहाँ पुग्न सकेका थिएनन्। भिडियोमा कम्तीमा पाँच तलाको आवासीय फ्ल्याट आगोले जलेको देखिएको छ।जेट भवनमा ठोक्किनुअघि दुवै पाइलट जेटबाट बाहिर निस्कन सफल भएको मन्त्रालयले जनाएको छ।

रसियाले युक्रेनको ऊर्जा ग्रिडहरू ध्वस्त पार्न र लाखौं नागरिकहरूलाई बिजुलीबाट बञ्चित गर्न कीभ र अन्य युक्रेनी शहरहरूविरुद्ध निरन्तर हवाई आक्रमण गरेकै दिन उक्त दुर्घटना भएको हो। रसियाले युक्रेनी राजधानीमा दर्जनौँ इरान निर्मित ‘सुसाइड ड्रोनहरू मार्फत आक्रमण गरेको थियो।येस्कमा दुर्घटमा परेको सो विमान रसियाले फेब्रुअरीमा आक्रमण सुरु गरेपछि दुर्घटनामा परेको १०औँ रसियाली सैन्य विमान भएको एक रसियाली मिडियाले बताएको छ।