काठमाडौँ — नेपालीहरु जब चाडपर्वमा आफ्ना परिवारसँग रमाईरहेका हुन्छन्, तब प्रहरीहरु हाम्रो सुरक्षार्थ सडकमा खटिरहेका हुन्छन् । उनीहरुलाई न कुनै चाडवाड न कुनै जात्रा, विना सेवासुविधा ड्युटीमा खटिरहेका हुन्छन् । सोमबार नेपाल प्रहरीले आफ्नो ६७ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।
आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह लगायत सहभागी थिए । स्थापना दिनको अवसरमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीलाई थप आधुनिक, व्यवसायिक, श्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिबद्ध रहेको बताए । सूचना प्रविधिलाई समायानुकूल परिवर्तन गरी अघि बढ्नसके मात्रै अपेक्षित परिणाम हासिल गर्न सकिने र प्रहरीभित्र सबै कर्मचारीको वृत्ति विकासलाई समयानुकूल सुधार गर्दै जानुपर्ने आवश्यक्ता रहेको पनि उल्लेख गरेका छन् ।
विश्वमा प्रविधिले ठूलो फड्को मारिसकेको छ । प्रविधिसँगै विश्वमा अहिले नयाँ नयाँ किसिमका अपराधिक गतिविधिहरु पनि बढ्न थालेको छ । त्यसैले विज्ञान र प्रविधिलाई उच्चतम प्रयोग गरेर आपराधिक क्रियाकलापको नियन्त्रण गर्न जरुरी भइसकेको छ । विकासक्रमले ठूला फड्को मारे पनि अझै कतिपय स्थानमा प्रहरीको आफ्नो भवन समेत छैन ।
प्रहरीहरु अहिले पनि भवनहरु भाडा लिएर आम नागरिकको सुरक्षार्थ खटिन बाध्य छन् । यद्यपि, गुन्डागर्दीसङ्गको मिलेमतोमा सामान्य जनतालाई दुख दिने गरेको आरोप पनि प्रहरी संगठनलाई लाग्दै आईरहेको छ । आम सर्वसाधारणलाई दिइने यस्ता अनेकन अनावश्यक दुःखबाट मुक्त हुन नागरिकको सुझाव छ ।
दशैँ र तिहार जस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन् बढी सजगताका साथ काममा खटिनुपर्छ । सबैले घरघरमा पर्व मनाइरहँदा उनीहरु सडकमा जनता र देशका लागि सुरक्षा दिइरहेका हुन्छन् । सरकारकै मातहतमा रहेको यो संगठनले अन्य सरकारी कर्मचारीहरुको सरसुविधाको महसुस नै गर्न पाउँदैनन् । तर पनि सीमित खराव व्याक्तिको कारण जनतामाझ नेपाल प्रहरीको छवीमा भने उल्लेख्य सुधार हुन सकेको छैन ।
प्रतिक्रिया