Breaking

को हुन सत्यमोहन जोशी ? किन भनिन्छ शताब्दी पुरुष ?


काठमाडौँ— शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ बर्षको उमेरमा निधन भएको छ । निकै लामो र सक्रिय जिवन वाचेका उनी एक वर्षअघिसम्म पनि उनी कार्यक्रमहरूमा आफैँ उपस्थित भएर साहित्यकारहरूलाई हौसला प्रदान गर्थे । केही महिना यता भने स्वास्थ्य अवस्थाका कारण कार्यक्रमहरूमा कमै उपस्थित हुन थालेका उनका नाममा दर्जनौ उपाधी र रेकर्डहरु समेत छन । आखिर को हुन त सत्यमोहन ?

नेपाली लोक साहित्य, संस्कृति, कला लगायत नेपालको पहिचानसँग जोडिएका विभिन्न क्षेत्रमा योगदान पुर्याएका सत्यमोहन जोशीको देहवशान भएको छ । माता राजकुमारी र पिता शंकरराज जोशीका ज्येष्ठ सुपुत्रका रुपमा वि.सं. १९७७ साल वैशाखमा ललितपुरको बखुम बहालमा जन्म भएको सत्यमोहनको शताब्दी पारको उमेरमा पनि उनको साहित्य र संस्कृतिप्रतिको उत्साह उत्तिकै लोभलाग्दो थियो । देहत्याग गर्नुभन्दा केही साताअघिसम्म समेत उनले साहित्यकारहरूलाई प्रत्यक्ष रूपमा प्रेरणा दिँदै आएका थिए । आफ्नो जीवनमा जुरेली चरीको विशेष प्रभाव रहेको बताउने उनी बिफरदेखि, औलो, हैजा अहिले कोरोनाभाइरसको विश्वव्यापी महामारीसमेत अनुभव गरेका व्यक्ति थिए ।

२००१ सालमा स्नातक तह अध्ययन गरिरहँदा पहिलो जागिर अन्तर्गत सर्वेक्षणका लागि तनहुँमा जाँदा उनलाई औलो भएको थियो भने बाँच्ने अवस्था नदेखेपछि घरबेटीले उनलाई महामृत्युञ्जय पाठ गराउन सुझाएको उनले पुस्तकमा लेखेका छन् । विसं. २०१३ मा लोकसंस्कृति ग्रन्थमा मदन पुरस्कार प्राप्त गरेका उनले दोस्रो पटक नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थमा विसं २०१७ मा र ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि विसं २०२८ मा मदन पुरस्कार प्राप्त गरेका जोशी विसं २०१५ मा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक भएका थिए । आफ्नो नियुक्ती ताका उल्लेख भएको नाम सत्यमोहन आफै हो होईन भनेर पत्ता लगाउन हप्तौ खर्चिएको रोचक प्रसंग सुनाउने उनले २०१६ मा पाँचौँ शताब्दीदेखि बीसौँ शताब्दीसम्मको मुद्राको विस्तृत विवरणसहितको ‘नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशित गरेका थिए । निकंलक र सादा जीवनको छवी बनाएका जोशी आफ्नो योगदानले मात्र नभई उनको उमेर र सक्रियताले समेत धेरैले सम्झिने पात्र हुन ।

तीन पटकसम्म ‘मदन पुरस्कार’ जित्न सफल जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित छन् । उनका संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित छन् । उनले दुई काव्य, पाँच कथा सङ्ग्रह, १० नाटक र केही नेवारी भाषाका कृति लेखेका छन् । समालोचकले उनको ५० पुस्तक प्रकाशित भएको जनाएका छन् । तीमध्ये उनका २० पुस्तकलाई महत्वपूर्ण पुस्तक मानिएको छ । नेपालको विकट क्षेत्र कर्णाली र सुप्रसिद्ध कलाकार अरनिकोलाई चिनाउने व्यक्तिका रुपमा समेत चिनिएका उनी पहिलो पटक न्यूजिल्याण्ड पुग्ने नेपाली समेत हुन । पहिलो ईपासपोर्ट पाउने व्यक्ति बनेका जोशी जिउदै हुँदा हुलाक टिकट छापिने व्यक्ति हुन भने जोशीको एक सय वर्षको जन्मोत्सवमा नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले वाङ्मय शताब्दी पुरुष जोशीको तस्बीर अङ्कित चाँदीको सिक्का नै निस्काशन गरेको थियो । रु दुई हजार पाँच सयका २५ हजार थान, रु एक हजारका २५ हजार थान र रु एक सयका १० हजार थान सिक्कामा एकातिर जोशीको तस्बीर छ भने अर्कोतिर सगरमाथाको तस्बीर रहेको छ । जोशीलाई वि. सं. २०७१ वैशाख ३० गते त्रिमुर्ति निकेतनले शताब्दी पुरुषको उपाधि दिएको थियो ।

शताब्दी पुरुष जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा गरेका योगदानकै कारण उनले पाएको सम्मानको सूची निकै लामो छ । काठमाडौँ विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्राप्त गर्नुभएका वरिष्ठ साहित्यकार जोशीलाई विसं २०६९ मा ‘पद्मश्री साधना सम्मान पुरस्कार’ प्रदान गरिएको थियो । यो वर्ष संविधान दिवसका दिन जोशीलाई राष्ट्र गौरव सम्मान दिने घोषणा गरिएको छ भने यसअघि पनि उनलाई सुप्रबल गोरखा दक्षिणबाहु, उज्वल कीर्तिमान राष्ट्रदीप, अनि २०६९ सालमा उनलाई पद्मश्री साधना सम्मान पुरस्कारलगायत सम्मान दिइएका छन् ।