देश

राजनीतिक दलका क्रियाकलापमा संलग्न हुनेलाई कारबाही गर्ने त्रिभुवन विश्वविद्यालयको चेतावनी


काठमाडौँ—त्रिभुवन विश्वविद्यालयले राजनीतिक दलका क्रियाकलापमा संलग्न हुने आफ्ना प्राध्यापक र कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ । त्रिवि कर्मचारी प्रशासन महाशाखाले कानूनविपरीत राजनीतिक दलको क्रियाकलापमा संलग्न हुने प्राध्यापक र कर्मचारीलाई कारबाही गर्ने बताएको छ । महाशाखाले विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण क्याम्पस, कार्यालय, अनुसन्धान केन्द्र, विभाग, महाशाखा, अस्पताल र केन्द्रलाई जानकारी गराउँदै शिक्षक–कर्मचारीले कुनै पनि दलको सदस्यता लिन नमिल्ने व्यवस्थाको स्मरण गराएको छ ।

यद्यपि, विश्वविद्यालयबाट स्वीकृत पेशागत वा वर्गीय हित तथा एकताका लागि गठित संगठनको सदस्यता लिनलाई कुनै बाधा नपर्ने महाशाखाले स्पष्ट पारेको छ । ‘विश्वविद्यालयबाट स्वीकृत पेशागत वा वर्गीय हित तथा एकताका लागि गठित संघ संगठनको सदस्यता लिन बाधा नपर्ने भए तापनि राजनीतिक दलको सदस्यता लिन र तिनका क्रियाकलापमा सक्रिय सहभागिता जनाउन पाइने छैन,’ परिपत्रमा भनिएको छ ।राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ २ ग मा ‘नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल नरहेको’ व्यक्तिमात्र राजनीतिक दलमा रहन पाउने व्यवस्था रहेको उल्लेख गर्दै महाशाखाले कानूनविपरीत कार्य नगर्न भनेको हो ।

त्यस्तै, त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० को परिच्छेद ९ को आचरणसम्बन्धी महलको नियम ६७ ले शिक्षक कर्मचारीले कुनै पनि दलको सदस्यता लिई वा नलिई राजनीतिक निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ ।कानुनविपरीत त्यस्ता गतिविधिमा संलग्न हुने शिक्षक–कर्मचारीलाई आवश्यक कारबाहीका लागि सिफारिस गरी पठाउन भनिएको छ ।