काठमाडौँ— भारतको हरियाणा राज्यको सरकारले विषाक्त कफ सिरप उत्पादक कम्पनी मेइडेन फर्मास्युटिकल्सको एउटा कारखानामा कफ सिरपको उत्पादन रोकेको छ । डब्ल्यूएचओ एक प्रतिवेदनमा गामबियामा झन्डै ७० जना बालकको मृत्युमा सो कारखानाको कफ सिरपको सम्बन्ध रहेको देखाएपछि हरियाणाको स्वास्थ्य विभागले त्रुटीपूर्ण कफ सिरपको उत्पादनमा रोक लगाएको हो ।अधिकारीहरूले राज्यको सोनेपत शहरमा रहेको मेइडेनको कारखानाको निरीक्षण गरेका थिए ।
यस क्रममा अभ्यास र उत्पादनसम्बन्धी १२ ओटा नियम तोडेको पाइएको अनि उत्पादन तत्कालै रोक्न आदेश दिएको हरियाणाका स्वास्थ्यमन्त्री अनिल भिजले बताएका छन् ।ल्याबमा परीक्षणका क्रममा कम्पनीको चार ओटा कोल्ड र कफ सिरपका औषधिमा अस्वीकार्य मात्रामा डाइथेलिन ग्लाइकोल र इथेलिन ग्लाइकोल रहेको गएको हप्ता डब्ल्यूएचओले बताएको थियो ।
ती चार ओटा औषधिहरू प्रोमेथाजिन ओरल सलुशन, कोफेक्समालिन बेबी कफ सिरप, म्याकोफा बेबी कफ सिरप र माग्रिप एन कोल्ड सिरप हुन् ।गामबियाको प्रहरीले मंगलबार एउटा प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा ६९ जना बालबालिकाहरूको मृत्यु भारतमा बनेको कफ सिरप सेवनका कारण मृगौलामा गम्भीर चोट लागेर भएको बताएको छ । गामबियामा सो औषधि अमेरिकास्थित कम्पनीमार्फत् आयात भएको थियो ।
भारतलाई औषधिको विश्व भनिन्छ । विश्वभर भारतले ठूलो मात्रामा औषधिहरूको आपूर्ति गर्दै आएको छ । विषाक्त औषधिहरू निर्यातको अनुमति गामबियाका लागि मात्रै दिइएको भारत सरकारले बताएको छ । तर, अनौपचारिक बजार वा माध्यमबाट अन्यत्रसमेत गएको हुन सक्ने डब्ल्यूएचओले बताएको छ ।
प्रतिक्रिया