गण्डकी प्रदेश

कर्मचारीको बढुवा र तहवृद्धिबारे आयोगले माग्यो स्पष्टीकरण


काठमाडोँ— निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारलाई कर्मचारीको बढुवा र तहवृद्धिसम्बन्धी निर्णयमा तीनदिने स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागेको अवस्थामा स्थानीय तहका कर्मचारीको बढुवा र तहवृद्धि गरेको भन्दै आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई स्पष्टीकरण सोधेको हो ।

आयोगले बिहीबार गण्डकी सरकारलाई स्पष्टीकरण सोधेको हो ।स्थानीय तहका कर्मचारीको बढुवा र तहवृद्धि गर्दा निर्वाचन आचारसंहिता उल्लंघन किन हुँदैन भनेर आयोगले गण्डकी प्रदेश सरकारलाई सोधेको छ । प्रदेश सरकारले अध्यादेशबमोजिम कर्मचारीको तहवृद्धि गर्ने सम्बन्धमा गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहलाई परिपत्र भएको र सो विषयको सूचना असोज २६ गतेको गोरखापत्र दैनिकमा प्रकाशन भएको देखिन्छ ।

गण्डकी प्रदेश सरकारले स्थानीय सेवा गठन तथा सञ्चालन अध्यादेश, २०७९ ल्याएर स्थानीय तहका कर्मचारीहरूको बढुवा र तहवृद्धि गर्न खोजेको थियो ।कर्मचारीहरूको तहवृद्धि गर्दा निर्वाचन आचारसंहिता २०७९ को उल्लंघन हुँदैन भन्ने आधार र कारण के छ पत्र प्राप्त भएको मितिले ३ दिनभित्र आयोगलाई इमेलमार्फत जवाफ दिनूु आयोगले गण्डकी प्रदेश सरकारलाई सोधेको छ ।