Breaking

धरानका मेयर हर्क साम्पाङविरुद्ध नगरबासी सडकमा


काठमाडौँ — धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ विरुद्द नगरबासी सडकमा उत्रिएका छन्। धरान ४, १३ र १४ का सर्वसाधारणले बिहीबार मेयर राईविरुद्द शिवधारा चोकमा आन्दोलन गरेका छन् । मेयर राईले धरान-४ को शिवजट्टाबाट खानेपानी ल्याउने तयारी गरेपछि त्यसको प्रतिकारमा तीनवटा वाडका बासिन्दा उत्रिएका हुन् ।

मेयर राइले जनश्रमदानबाट खानेपानी ल्याउन तयारी गरेपछि धरान ४, १३ र १४ का बासिन्दाले खानेपानी मुहान जाने बाटो शिवधारा पेट्रोल पम्पअगाडि अवरोध गरेका थिए । मेयर राइले तीन वडाका जनताले निजी लगानीमा पानी खाइरहेकामा यहाँका जनतालाई काकाकुल बनाउने उद्देश्यले मुहान मिचेर खानेपानी अन्यत्र लैजान लागेकाले आन्दोनमा उत्रनु परेको धरान १४ का नबिन केसीले बताए ।

उनले मेयर राइले आफ्न समर्थकलाई उकासेर यहाँका जनतासँग मुढभेड गराउन खोजेको आरोप लगाए । धरान ४,१३ र १४ का बासिन्दाले खाँदै गरेको पानीको मुहान माथिबाट मेयर राइले खानेपानी अन्यत्र लान लागेपछि उनीविरुद्ध आन्दोलन गर्नु परेको धरान १३ मदन कट्वालले बताए । उनले यस क्षेत्रका बासिन्दाको सहमती बेगर खानेपानी अन्यत्र लगिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मेयर राई दलबलसहित शिबजट्टाको पानी ल्याउन हिंडेपछि आन्दोलनकारीले शिवधारामा बाटो छेकेका थिए । दुईतर्फी झडप हुने देखिएपछि घटना स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । झडप हुने अवस्था आएपछि तत्काल प्रहरी परिचलन गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी वुद्ध श्रेष्ठले बताए ।

मेयर राईले उपमहानगरपालिकाबाट संस्थागत निर्णयबेगर आफूखुशी काम गर्दै हिंडेको भन्दै आन्दोलनकारीलाई धरान ४ का वडाअध्यक्ष धनबहादुर राई र १४ का कृष्ण भट्टराईलेसमेत साथ दिएका छन् । धरान ४ का वडाअध्यक्ष राईले मेयरले मनोमानी ढङ्गले खानेपानी अन्यत्र लागि यहाँका जनतालाई काकाकुल बनाउन खोजेको आरोप लगाए ।

मेयर साम्पाङलाई सर्वसाधारणले घेराउ गरी चर्को विरोध गरेपछि वार्ताद्वारा यसको समस्या समाधान गरिने र धरान ४, १३ र १४ का बासिन्दालाई अन्याय नगरिने आश्वासन दिएका छन् ।