देश

चिनियाँ राजदूत यान्छी र गृहमन्त्री खाणको शिष्टाचार भेट


काठमाडौँ— नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खाँणसँग शिष्टाचार बिदाई भेट गरेकी छन्। बिहीबार गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीनबीचको आपसी सम्बन्ध, सहयोग आदानप्रदानलगायत विषयमा कुराकानी भएको हो। गृहमन्त्री खाँणले भेटमा नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको बताए। उनले नेपालमा कुनै पनि मुलुकविरुद्ध कुनै अवाञ्छनीय गतिविधि हुन नदिने प्रष्ट पारे। उनले राजदूत यान्छीको कार्यकालमा भएको चिनियाँ राष्ट्रपति सि चिनफिङ, चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सुलगाययत उच्च पदस्थ अधिकारीको नेपाल भ्रमणले नेपाल चीन सम्बन्धलाई अझै सुदृढ बनाएको बताए।

नेपाल–चीन बीचमा कुटनीतिक सम्बन्धका साथसाथै सामाजिक र साँस्कृतिक सम्बन्ध पनि रहेको बताउँदै खाणले नेपालको भौतिक विकास, प्राकृतिक विपद् र महामारीको बेलामा पुर्‍याएको सहयोगका लागि चिनियाँ सरकार र चिनियाँ जनतालाई राजदूत यान्छीमार्फत धन्यवाद दिए। राजदूत यान्छीले चार वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेर नयाँ महत्वपूर्ण जिम्मेवारीका लागि जान लागेकोमा शुभकामना व्यक्त गरे। स्वदेश फर्किएपछि पनि यान्छीले नेपाल चीन सम्बन्ध प्रगाढ बनाउन र नेपालको विकास र समृद्धि, सद्भाव र सहयोग, पर्यटनको विकासमा चिनियाँ नागरिकहरूलाई नेपाल भ्रमणमा प्रेरित गर्न निरन्तर भूमिका खेलिरहने विश्वास गृहमन्त्री खाँणले व्यक्त गरे।

राजदूत यान्छीले नेपालको विकास र प्रगतिका लागि चीनले सदैव सदभाव र सहयोगका साथ साथै शुभकामना व्यक्त गरिरहेको बताए। पर्यटन विकासका लागि नेपाल भ्रमण आउने वातावरण चिनियाँ सरकारले मिलाउने र आफूले व्यक्तिगत रूपमा नेपालको भौगालिक, सामाजिक र सास्कृतिक विविधता तथा नेपालीको पर्यटक र पाहुनाप्रतिको सद्भावबारे आफ्ना चिनियाँ साथी र जनतासम्म विचार राख्ने यान्छीले बताइन्।

खाण गृहमन्त्री भएपछि चीन–नेपाल सम्बन्ध सुदृढ बनाउन खेलेको भूमिकाको सराहना गर्दै राजदूत यान्छीले चीनको सुरक्षा संवेदनशीलतालाई गम्भीररूपमा लिएकोमा धन्यवाद व्यक्त गरिन्।मंसिर ४ गते निधारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न नेपाल सरकार र गृहमन्त्रीलाई सफलता मिलोस् भन्ने शुभकामना चीन सरकारका तर्फबाट राजदूत यान्छीले दिइन्।

आफू जुनसुकै जिम्मेवारीमा जहाँ रहेपनि नेपालबाट प्राप्त सम्मान र सद्भावलाई सदैव सम्झिरहने यान्छीले बताइन्। गृहमन्त्री खाँणले नेपालमा संवैधानिक व्यवस्था अनुसार ५र५ वर्षमा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन हुने जानकारी गराउँदै स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेको तथा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्रतापूर्वक सम्पन्न गर्ने तयारी सरकारले गरिरहेको बताए।