काठमाडौँ— चर्चित र वौद्धिक भनिएका तथा संसदीय अभ्यासमा अब्बल दरिएका धेरै नेताहरुले यो पटक सदन टेक्न नपाउने भएका छन । पार्टीभित्र र बाहिर पनि चर्चामा रहे पनि पार्टीले टिकट नदिदा उनीहरु आगामी ४ मंसिरमा आम निर्वाचनकोउम्मेद्वार बन्न नपाएका हुन । फलतः कतिपयले स्वतन्त्र उम्मेद्धारी समेत दिएका छन । तर उनीहरुको समेत जित त्यति सहज भने देखिएको छैन । संसदमा एमसीसी विरुद्ध चर्को आवाज उठाएका एमाले नेता डा.भीम रावल यो पटक संसदमा हुनेछैनन् । संसदीय राजनितिका अनुभवी खेलाडी तथा राष्ट्रियताको वहसमा खरो उत्रदै आएका उनी पार्टी भित्र समेत वागी नेताका रुपमा चिनिएका छन । तर पार्टीले टिकट नदिएपछि उनको यहि फरक विचार आगामी संसदमा नसुनिने भएको हो । एमालेको मुल सिद्धान्त जनताको बहुदलिय जनवादका व्याख्याता तथा सैद्धान्तिक नेताको छवी बनाएका अर्का नेता घनश्याम भूसालले पनि यहि नियती व्यहोरेका छन ।
तर स्वतन्त्रबाट उम्मेद्धारी दिएका उनले जितेर आउने सम्भावना भने यथावत छ । उनीजस्ता धेरै टिकटबाट बन्चित हुदाँ संसदको बाटो बन्द भएको छ । फलत केहीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् भने केहीले युवाका लागि आफू उम्मेदवार नबनेको बताउँदै आफ्नो बचाउ गरेका छन् । सभामुख अग्नि सापकोटा उम्मेदवार बनेका छैनन् । युवाका लागि छाडिदिएको बताएका उनले आफ्ना भतिज माधव सापकोटालाई उम्मेदवार बनाएका छन् ।नेपाल समाजवादी पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यसपटक चुनावी मैदानमा उत्रिएनन् । युवालाई छाडेको बताएका भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग गर्ने भएका छन् । डा. भट्टराईले आफ्नी छोरी मानुषी यमी भट्टराईलाई काठमाडौं ७ बाट उम्मेदवार बनाएका छन् ।
कांग्रेसको वलियो उपस्थिती रहेको स्थानमा अध्यक्ष केपी ओलीले उठाउन खोजेपछि एमालेबाट रामबहादुर थापा बादलले टिकट लिनै मानेका छैनन् भने लामो वामपन्थी राजनीति गरेकी अष्टलक्ष्मी शाक्यले त अव संसदीय राजनिति नै नगर्ने घोषणा गरेकी छन ।मुख्यमन्त्री भइसकेका एमालेका डोरमणि पौडेल र माओवादी केन्द्रका त्रिलोचन भट्टले पनि यसपटक टिकट पाएनन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री रहेका कुलप्रसाद केसीलाई पनि माओवादीले टिकट दिएन ।आगामी निर्वाचन पूर्व सभामुख कृष्णबहादुर महराले पनि लड्ने छैनन् भने वौद्धिक नेताको छवी बनाएका सुरेन्द्र कार्की,लेखनाथ न्यौपानेलाई माओवादीले टिकट नै दिएको छैन । त्यस्तै रोचक प्रस्तुतीले चर्चित रामनारायण विडारी पनि संसदमा देखिने छैनन् भने एमसीसीको खरो विरोध गरेका लिलामणी पोखरेलले पनि टिकट पाएका छैनन् । सिन्धुली क्षेत्र नं. २ बाट टिकट पाउनेमा ढुक्क भएका माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पनि अन्तिम समयमा आएर टिकट पाएनन् । एता कांग्रेसबाट पनि चर्चित अनुहार स्वर्णीम वाग्ले टिकटबाट बन्चित बनेका छन । विश्व बैंकको जागिर छोडेर नेपाल आएका र भावी अर्थमन्त्री हुनेसम्म चर्चा चलेका उनलाई गगन थापाले साथ दिएपनि कांग्रेसले टिकट दिएन।
त्यस्तै महामन्त्री हारेपछि रक्षामन्त्रीबाट नैतिकताका आधारमा राजिनामा दिएका तथा एमालेलाई सरकार चलाउन सिकाउनेसम्मका अभिव्यक्ती दिएका मिनेन्द्र रिजालले समेत पार्टीबाट टिकट पाएनन् । पिछडिएको क्षेत्र र दलितबाट राम्रो सम्भावना भएका नेता प्रकाश रसाईली स्नेही पनि अव संसदमा आवाज मुखरित गर्ने ठाँउमा रहने छैनन् ।संसद निति निर्माणको थलो हो । यहाँ वौद्धिक वहसको अपेक्षा पनि गरिन्छ । तर नेतृत्वको चाकरी नगरेकै कारण यस्ता धेरै बौद्धिक नेताहरुको अनुहार आगामी संसदमा देखिने छैनन् । उनीहरुको साटो नेताका आसपासे र आफन्तले यो ठाउ भरिने छ । तर यी छोडिएका अनुहारले पनि फेरी नेतृत्वको चाकरी गरे भने चाँहि राष्ट्रिय सभाको बाटो खुल्ला हुनसक्ने अवस्था भने कायमै छ ।
प्रतिक्रिया