काठमाडौँ — नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई आज अदालतमा पेश गरिएको छ । काठमाडौँ जिल्ला अदालतले पेश गरिएको लामिछानेलाई ७ दिनको म्याद थप गरी हिरासतमा नै राख्न अदालतले आदेश दिएको छ ।
नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि सोमबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको छ । दशैं बिदाका कारण अदालत बन्द रहेकाले आज मात्रै म्याद थपका लागि अदालत लगिएको हो । योसँगै प्रहरीले अनुसन्धान प्रक्रिया औपचारिक रुपमा नै अघि बढाएको छ ।
निलम्बित कप्तान लामिछानेलाई जिल्ला अदालतले ७ दिनको म्याद थप गरी हिरासतमा नै राख्न आदेश दिएको छ । अदालतले पक्राउ परेको दिन २० गतेदेखि नै जोडेर सात दिनको मात्र अनुमति दिएको हो । जसकारण उनलाई अब तीन दिन पछि असोज २७ गते पुनः अदालतमा हाजिर गराउनु पर्नेछ ।
लामिछानेका पक्षबाट वकालत गरिरहका अधिवक्ता सरोजकृष्ण घिमिरेले नाबालिग भनिएकी किशोरीको दुईटा जन्म दर्ता रहेको र अध्ययन प्रयोजनका लागि उमेर घटाएर अर्को जन्म दर्ता बनाइएको दाबी गरेका छन् । पीडित भनिएकी किशोरीको उमेर १७ नभएर १९ भएको वकिलको दाबी छ ।
लामिछानेले पनि सोमबार इजलासमा पीडित भनिएकी किशोरी १९ वर्षको भएको दाबी गरेका छन् । जाहेरवालाले म १९ वर्षको भएँ भनेर बताएको इजलाससमक्ष सन्दीपले भनेको कानुन व्यवसायी सुधा रिजालको भनाई छ ।
म्याद थपअघि सन्दीपले आफू निर्दोष रहेको भन्दै आत्मविश्वासका साथ न्यायाधीशसामू आफ्नो कुरा राखेका थिए । उनले आफ्नो गोपनीयता भंग गरेको अवस्थामा त्यसको वैकल्पिक उपचार हुन्छ कि हुँदैन भनेर समेत प्रश्न गरेका थिए । आफ्नो गोपनियता भङग गरेर अपराधी करार गरेको शैलीमा प्रस्तुत गरीएको भन्दै सुरु देखिनै असन्तुष्टि जनाएका उनले न्यायलयमा समेत आफ्नो गुनासो पोखेका थिए ।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो । यसै आरोपमा उनलाई प्रहरीले पक्राउ गरी प्रहरी वृत्त गौशालामा राखिएको थियो ।
प्रतिक्रिया