देश

१ हजार बढी व्यक्तिमा डेंगु संक्रमण

योहो संवाददाता

काठमाडौँ— चितवन जिल्लामा १ हजार २६ जनामा डेंगुको संक्रमण देखिएको छ । चितवनका विभिन्न अस्पतालमा उपचारका क्रममा आएका उनीहरूमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार ५ हजार २८५ जनाको परीक्षणका क्रममा उनीहरूमा डेंगु देखिएको हो । तीमध्ये ६९३ जना चितवनका छन् । २१७ जना बाहिरी जिल्लाका र ११६ जनाको ठेगाना नखुलेको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए ।उनका अनुसार डेंगुका कारण जिल्लामा २ जनाको मृत्यु भइसकेको छ ।

जिल्लाभित्र भेटिएका संक्रमितमध्ये भरतपुर महानगरपालिकामा ४४९, रत्ननगर नगरपालिकामा १०३, खैरहनी नगरपालिकामा ६३ जनामा डेंगु संक्रमण देखिएको कार्यालयको तथ्यांकले देखाएको छ । राप्ती नगरपालिकामा ३६, माडी नगरपालिकामा १९, कालिका नगरपालिकामा १८ र इच्छाकामना गाउँपालिकामा ५ जनामा डेंगु देखिएको हो ।

संक्रमितमध्ये सबैभन्दा बढी पुरुष रहेका छन् । ४०६ पुरुष र २८७ महिलामा डेंगु देखिएको कार्यालयले जनाएको छ ।