विदेश

कफ सिरपले ६६ बालबालिकाको मृत्यु


काठमाडौँ— विश्व स्वास्थ्य संगठनले एक भारतीय औषधि कम्पनीका चारवटा खोकीको औषधिबारे चेतावनी जारी गरेको छ । अफ्रिकी देश गाम्बियामा ६६ बालबालिकाको मृत्यु भएपछि डब्ल्यूएचओले यस्तो चेतावनी दिएको हो ।

डब्ल्यूएचओले बुधबार विश्वव्यापी स्वास्थ्यसम्बन्धी पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको थियो। जेनेभामा डब्ल्यूएचओ प्रमुख टेड्रोस गेब्रेयससले गाम्बियामा पत्ता लागेको चार औषधिको बारेमा एक चिकित्सा उत्पादन चेतावनी जारी गरेको छ जुन मृगौलामा समस्या र ६६ बालबालिकाको मृत्युसँग सम्बन्धित रहेको आशंका गरिएको छ।

डब्ल्यूएचओले यी चार औषधिहरू भारतमा म्याडेन फार्मास्युटिकल्स लिमिटेडद्वारा निर्मित खोकीका सिरप भएको बताएका छन् । डब्ल्यूएचओले कम्पनी र भारतका नियामक अधिकारीहरूसँग थप अनुसन्धान गरिरहेको छ।

यी दूषित उत्पादनहरू अहिलेसम्म गाम्बियामा मात्र फेला परेको छ । अन्य देशहरूमा पनि वितरण भएको हुनसक्ने भन्दै डब्ल्यूएचओले सबै देशहरूलाई बिरामीहरूलाई हानि हुन नदिन यी उत्पादनहरू परीक्षण गर्न र हटाउन सल्लाह दिएको छ ।