Breaking

यी प्रदेशमा भारी वर्षाको सम्भावना, जनजीवन प्रभावित


काठमाडौँ — चार दिनदेखिको लगातारको झरी आज बिहानबाट काठमाडौँमा केही कम भएको छ । यद्यपि, पानी नपरे पनि मौसममा बदली रहेको छ ।

आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै र लुम्बिनी तथा गण्डकी प्रदेशका एकदुई स्थानमा भारी देखी धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै, लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखी धेरै भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ । नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने साथै कृषि, पर्यटन, पर्वतारोहण लगायत दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

हाल नेपालमा मध्यपश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जसका कारण मनसुनी प्रणाली सक्रिय छ ।