Breaking

प्रचण्डको रंगचंगी, ओलीले दुईतिर भ्याए, राष्ट्रपतिको राजर्षी ठाँट, ज्ञानेन्द्रको ढोका बन्द


काठमाडौँ — मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्न राजनीतिक दलका शीर्षनेतादेखि सर्वसाधारणहरुसमेत व्यस्त बने । तर केही राजनीतिक दलका शीर्ष नेताले टीका लगाउन पाएनन्, र अरुलाई पनि लगाइदिएनन् । सत्ता गठबन्धनमा आवद्ध दलहरुलाई भागबण्डाको माथापच्चीले फुर्सद दिएकै थिएन । बुधबार एकैछिनभएपनि फुर्सद निकाले र टिकटको हानथापमा रहेका उनीहरुलेटीकातिर ध्यान मोडे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टीका लगाइदिने त कोही भएन, तर रंगचंगी, फुलबुट्टे एकैथरीका कपडा लगाएर पहेंलै परेका छोरी, बुहारी र नाति–नातिनीहरुलाई टीका लगाइदिए र आशिर्वाद पनि दिए । दक्षिणा कति दिए? सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गरेका छोरीहरु रेनु–गंगाले खुलाएका छैनन् ।जे होस् प्रचण्डको निधार खालीदेखिए पनि खुमलटारमा दसैं राम्रै जमेको थियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालीको दसैं बालकोट छोडेर गृहजिल्ला झापामा मनाएका छन् । दमकस्थित आफ्नै निवासमाबालबालिकासँग टीका सुरु गरेका ओलीले बुवा मोहनप्रसाल ओली र ठूली आमा हरिमाया ओलीको हातबाट टीका थापेका छन् । चुनावको मुखमै पत्नी राधिका शाक्यसहित झापा पुगेका उनले कार्यकर्ताहरुलाई समेत टीका लगाइदिएका छन् ।

नेपाली काँग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निधार भने यसपटक खाली थियो । भाइ प्रेमबहादुर देउवाको नाममा टीका छोडेका प्रधानमन्त्री देउवाले अरुलाई पनि लगाइदिएनन् । तर टीकाको रमझमले शीतलनिवास दसैंमय भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासका मूलपुजारी खेमचन्द्र ढकालबाट शुभसाइतमै टीका थापिन् । राष्ट्रपतिको हातबाट टीका थाप्न शीतलनिवास पुगेर लाइनबद्ध भएकाहरुलाई पनि राष्ट्रपतिले टीका लगाइदिएकी छिन् ।

राष्ट्रपतिको हातबाट टीका थाप्न झापामा रहेका एमालेका अध्यक्ष ओली बुधबार नै काठमाडौं फर्किएका थिए । तर सधैं सर्वसाधारणलाई टीका लगाइदिने पूर्वराजा ज्ञानेन्द्र शाहले भने यसपटक ढोका बन्द राखे ।डेंगु महामारीको कारण देखाएर केही दिनअघिमात्रै सर्वसाधारणलाई टीका नलगाउने जानकारी पूर्वराजाका तर्फबाट सार्वजनिक भएको थियो ।राजनीतिक दाउपेच र रस्साकस्सीमै चक्कर चलाइरहेको अन्य नेताहरुले समेत आ–आफुलाई पायाकपर्ने गरि टीका लगाएका छन् ।