Breaking

काठमाडौँ उपत्यकासहित पश्चिममा भारी वर्षा


काठमाडौँ — काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभागमा गएरातिदेखि नै वर्षा भइरहेको छ। देशको पश्चिमी भागमा भारी मात्रामा वर्षा भएको बताइएको छ ।

वर्षाका कारण आज विजया दशमीका दिन मानिसहरुलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले आज दिनभर देशैभर हल्का तथा मध्यम वर्षा हुने अनुमान छ ।

आज प्रदेश नं १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुनेछ भने अन्य प्रदेशमा हल्कादेखि मध्य वर्षा भइरहेको छ ।

वरिष्ठ मौसमविद् शान्ति कडेँलका अनुसार काठमाडौँ उपत्यकामा हल्का वर्षा भइरहेको छ। विगत १२ घण्टामा काठमाडौँमा ३० एमएमको हाराहारीमा पानी परेको छ ।

“उपत्यकामा हल्का सिमसिम पानी पर्छ, ३/४ बजेतिर पानी रोकिन्छ” उहाँले रासससँग कुरा गर्दै भनिन्, “सिमसिम पानी परिरहन्छ तर ठूलो वर्षा हुँदैन । मौसम खुल्ने सम्भवाना छैन, बदली रहन्छ ।”

उनले यो प्रक्रिया अझै २/३ दिन रहने जानकारी दिँदै भनिन्, “पश्चिम र सुुदूरपश्चिमतिर आज र राति पनि भारी वर्षा हुने सम्भावना छ। यो प्रक्रिया अझै २/३ दिनसम्म रहन्छ । यो वर्षाले पश्चिममा बाढी पहिरो, खेतीपातीमा क्षति हुने समेत सम्भावना छ ।”

उनका अनुसार पूर्व र मध्यम भागमा सामान्य पानी पर्नेछ भने पश्चिममा भारी वर्षाले क्षति हुने पनि सम्भावना देखिएको छ ।