काठमाडौँ — दुईसाताअघि सहमति नजिक रहेको बताएको सत्तागठबन्धनले आज पनि बाँडफाँट टुंग्याएको छैन । सबै दल आफ्नै अडानमा अडिग रहेपछि भागबण्डा गठबन्धनका लागि भारी परेको हो । बाहिर दसैंको रमझम र बर्षाको झरीले मौसम चिसो बनाएको छ ।बालुवाटारमा भागबण्डाको रस्साकस्सी चलाइरहेका दलहरुमाभने उखरमाउलो गर्मी चढेको छ । तर अहः सहमति जुटेको छैन । पाँच दलीय सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच आगामी मंसिर ४ को निर्वाचनका लागि भागबण्डाको अन्तिम तयारी चलेपनि आ–आफ्नै अडानमा अड्किए दलहरु गल्न चाहेका छैन ।
उम्मेदवारी दर्ताको मात्र चार दिन बाँकी रहेका बेला बाँडफाँटका लागि बालुवाटारमा म्याराथन दौड नै चलाएका दलहरुलाई निष्कर्ष दिन अलमल परेको हो । आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले गरेको प्रस्तावमा असहमति जनाउँदै जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धन बाहिरका दलसँग तालमेल गर्ने निर्णय गरेको थियो ।आफुलाई दिएको भागबण्डामा असहमति जनाएका माधवकुमार नेपालसमेत त्यही बैठकबाट असन्तुष्ट बन्दै बाहिरिएका थिए ।
सोमबार नेपालसहित जसपा अध्यक्ष उपेन्द्र यादवलाई फकाउनमै गठबन्धन केन्द्रीत बनेको थियो । मंगलबारको बैठकमा समेत थुप्रै असन्तुष्टि र नेताहरुका अडान यथावत् रहेपछि सहमति जुट्न मूस्किल परेको हो । गठबन्धनमै आवद्ध जसपाले मधेश प्रदेशमा सबैभन्दा बढी सिट आफुले पाउनुपर्ने दाबी गरेपनि नेपाली काँग्रेसले आफ्नै वर्चश्व जमाउन खोजेपछि गठबन्धनबाट बाहिरिएर एमालेसँग तालमेल गर्नेसम्मको जसपा तयारी छ ।
यद्यपी देउवाले जसपालाई मनाएरै भएपनि राख्ने, नसके लोसपालाई गठबन्धनमा भित्र्याउने कसरत गरेका छन् । तर काँग्रेस–माओवादीकै मात्र फाइदामा गठबन्धन देखिएपछि असन्तुष्टि मत्थर भएको छैन् । सिट बाँडफाँटमा लगभग सहमति भएपनि कहाँ कसले कुन उम्मेदवार बनाउने भन्ने विषय गठबन्धनलाई भारी परेको छ । मंगलबार नै सहमति गरेर हस्ताक्षर समेत गर्ने तयारी गरेको गठबन्धनले मध्यरातिसम्म सहमति नगरे दसैंपछिमात्रै भागबण्डा सफल हुनेछ ।
प्रतिक्रिया