समाचार

सार्वजनिकस्थलमा धुमपान प्रतिबन्ध


काठमाडौँ — असोज १ गतेबाट सार्वजनिक स्थानमा धुमपान गर्न नपाइने भएको छ । काठमाडौँ महानगरपालिकाले असोज १ गतेबाट सार्वजनिक स्थानमा धुमपान गर्न नदिने निर्णय गरेको हो ।

महानगरपालिका, नगरसभाको ११औं अधिवेशनबाट सार्वजनिक स्थलमा धमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

“असोज १ गतेबाट सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने वा सेवन गर्ने कार्य निषेध गरिएको छ,” महानगरले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “सार्वजनिक स्थलमा धुमपान र सुर्तिजन्य पदार्थको प्रयोग नगर्ने, अन्य व्यक्तिबाट हुने प्रयोगलाई निरुत्साहित गर्ने, सार्वजनिक स्थललाई धुमपान तथा सुर्तीजन्य पदार्थ मुक्त गर्ने गराउने कार्यका लागि गरिने नियमन तथा नियन्त्रणसम्बन्धी कार्यमा सहयोग गर्न सबैमा अनुरोध छ ।”

सार्वजनिक स्थललाई धुमपान गरे सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ समेतका आधारमा कानुन उल्लंघन गर्ने व्यक्तिलाई सार्वजनिकस्थलवाट बाहिर निकाल्ने वा तोकिएबमोजिमको जरिबाना गर्ने महानगरले चेतावनी दिएको छ ।