Breaking

प्रदेश १ ले पाएन नाम, अन्त्य हुँदै दशौं अधिवेशन


काठमाडौँ — प्रदेश १ प्रदेश सभाको पहिलो कार्यकालको चालु दशौं अधिवेशन शुक्रबार मध्यरातबाट अन्त्य हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयले शुक्रबार मध्यरातबाट प्रदेश सभाको दशौं अधिवेशन अन्त्य हुनेबारेको पत्र बिहीबार प्रदेशसभामा पठाएको छ ।

दशौं अधिवेशन अन्त्य हुनु अघि शुक्रबार प्रदेश सभा बस्ने छ । शुक्रबार बस्ने दशौं अधिवेशनको २५औं बैठक पहिलो कार्यकालको अन्तिम बैठक हुने छ ।

मंसिर ४ गतेका लागि प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन घोषणा भइसकेको र विशेष अधिवेशन बोलाउनु पर्ने आवश्यकता नभएकाले पहिलो कार्यकालको अन्तिम बैठक नै शुक्रबारको हुने छ ।

अन्तिम बैठकमा प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक वर्ष २०७८–०७९ को वार्षिक प्रतिवेदन र प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सोही समितिले यता गरेको प्रतिवेदन पेस गर्ने र पारित गर्ने प्रस्तावित कार्यसूची रहेको छ ।

अन्त्यमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन अन्त्य सम्बन्धीको पत्र पढेर सुनाउने छन् ।