अटो

नेपालप्रतिको प्रतिबद्धतालाई सुदृढ गर्दै सामसङ

युवालाई प्राविधिक सीप हस्तान्तरण गर्न त्रिविसँग एमओयू


काठमाडौँ – विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्राण्ड सामसङले युवाहरुलाई प्राविधिक सीप तथा तालिम प्रदान गर्नका लागि त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ संकायसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।

उक्त अभियानमा सामसङले युवाहरुलाई भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेटअफ थिङ्स जस्ता प्राविधिक सीपहरूमा तालिम दिने जनाएको छ । यसको विश्वव्यापी सीएसआर योजना सामसङ इनोभेसन क्याम्पसको एक भागको रूपमा काम गर्ने सामसङले जनाएको छ ।

नयाँ तालिम योजनाले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्यारउने विश्वास कम्पनीले लिएको छ । सामसङ इलेक्ट्रोनिक्सका एसडब्ल्युए क्षेत्रीय अध्यक्ष तथा सिइओ केन काङ र सामसङ इलेक्ट्रोनिक्स ग्लोबलका अध्यक्ष तथा प्रमुख वित्तीय अधिकारी एचके पार्कको उपस्थितिमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशीले समझदारीपत्र आदानप्रदान गरेका थिए ।

हस्ताक्षरपछि सिइओ काङले भने, ‘त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ जस्तो प्रतिष्ठित संस्थासँग साझेदारी गर्न पाउँदा हामी सम्मानित महसुस गर्छौ । सामसङ इनोभेसन क्याम्पसको यस योजनाबाट हामीले नेपाली युवाहरूलाई श्रमबजारमा प्रवेशको तयारीका लागि प्राविधिक सीपहरू अभिवृद्धि गर्नेछौं, उनीहरूलाई व्यवसायहरूमा उच्च माग भएका र भविष्यमा प्रशस्त सम्भावना भएका प्राविधिक सीपहरूमा तालिम दिनेछौं ।’

त्रिवि इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन जोशीले सम्झौता भएका विषय क्याम्पसमा अध्यापन गराइने बताए । उनले भने, ‘सामसङ इनोभेसन क्याम्पस योजनाको हिस्सा भएका पाठ्यक्रमहरू आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स, इन्स्टिच्युट अफ इन्जिनियरिङमा पढाइनेछ । पाठ्यक्रमहरूको लागि छनोट हुन विद्यार्थीहरूलाई एल्गोरिदम, डेटा संरचना र प्रोग्रामिङको ज्ञान हुनुपर्छ ।’

२०१९ मा सुरु भएको सामसङ इनोभेसन क्याम्पस योजना सामसङको (टूगेदर फर टुमोरो) को विश्वव्यापी सीएसआर भिजनको एउटा हिस्सा हो । मानिसहरूलाई सक्षम बनाउँदै, विद्यार्थी र बेरोजगार युवाहरूलाई एआई र आईओटी जस्ता चौथो औद्योगिक क्रान्तिको प्रमुख प्रविधिहरूमा अनुभव गर्न तालिम दिने गरेको छ ।